बिर्तामोड, फागुन २ । नेपालमा क्यान्सर रोगको उपचारलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडले तीन दिने सम्मेलन ‘पूर्वाञ्चल क्यान्सर कंग्रेस’ शुरु गरेको छ ।

नेपाल , भारतलगायतका सार्कका पाँच राष्ट्रका क्यान्सर विशेषज्ञहरुको सहभागितामा पूर्वाञ्चल क्यान्सर अस्पतालले आजदेखि सम्मेलन शुरु गरेको हो । स्तन र जीआई क्यान्सर रोग र त्यसको उपचारका बारेमा सम्मेलनमा बृहत छलफल गरिने अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । क्यान्सर रोगको उपचारमा रेडिएसनसम्बन्धी छलफल गरिने जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । पूर्वाञ्चल क्यान्सर अस्पतालमा शुरु भएको सम्मेलनअन्तर्गत शनिवार र आइतवार मेचीनगरको होटल मेची क्राउनमा विशेष छलफल गरिने जनसम्पर्क अधिकारी गिरीले जानकारी दिए ।
सम्मेलनमा सार्क राष्ट्रका करिव ३ सय ५० जना चिकित्सकहरुको सहभागिता रहने जनाइएको छ ।

सम्मेलनमा क्यान्सर रोगको उपचारमा संलग्न एक सय जना विशेषज्ञ चिकित्सकहरुले प्रस्तुत गर्ने कार्यपत्रमाथि व्यापक छलफल हुने अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले बताए ।

दुई वर्षअघि पनि पूर्वाञ्चल क्यान्सर अस्पतालले त्यस किसिमको सम्मेलन आयोजना गरेको थियो ।
कार्यक्रममा सार्क फेडेरेसन अफ अंकोलोजिस्ट नेपालका संस्थापक अध्यक्ष प्राडा मदनकुमार पियाले पाठेघरभन्दा अहिले स्तन क्यान्सरको समस्या बढी देखिएको बताए । डा. राजेन्द्र बरालले क्यान्सर क्रोनिक रोग नभएर सामान्यजस्तै क्युरेबल रोग भइसकेको बताए । कार्यक्रममा बीएण्डसी टिचिङ अस्पतालका प्रिन्सिपल डा. उमेशकुमार शर्मा , पूर्वाञ्चल क्यान्सर अस्पतालका डा. मुक्ति देवकोटा , डा. बजरंगप्रसाद शाहलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्