
झापा,फागुन ४ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्वीस सरकारका प्रतिनिधि बिच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा नेपालका लागि स्वीस सरकारका प्रतिनिधि ‘हेड अफ कर्पाेरेशन’ म्याथिस मेयर र सल्लाहकार नवीन वाग्लेसहितको प्रतिनिधिमण्डलबिच भेटघाट भएको हो ।
विकास साझेदार संस्थाका प्रतिनिधिसँगको भेटवार्तामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वीस सरकारले गरेको सहयोग र सहकार्यको प्रशंसा गरेका थिए । उनले ७५ वर्षदेखि नेपाल र स्वीस सरकारको सम्बन्ध रहेको चर्चा गर्दै यो सम्बन्ध अझै प्रगाढ र विस्तार हुने बताए ।
नेपालको संघीयता र संविधान कार्यान्वयनका लागि गरेको सहयोग महत्वपूर्ण भएको मुख्यमन्त्री कार्कीले उल्लेख गरे । उनले वित्तीय संघीयता बलियो बनाउन स्वीस सरकारको भूमिका प्रशंसनीय रहेको चर्चा गरे । साथै मुख्यमन्त्री कार्कीले यस कार्यमा थप सहयोगको आवश्यकता रहेको बताए ।
मुख्यमन्त्री कार्कीले राजनीतिक स्थिरता कायम भएकोले कामहरुलाई दु्रत गतिमा अगाडि बढाउने विश्वास दिलाउँदै कोशी प्रदेशमा लगानी सम्मेलन, पर्यटन सम्मेलन, पर्यटन वर्ष र चिया सम्मेलनको तयारी गरिरहेको जानकारी दिए । यी गतिविधिहरुबाट प्रदेशको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने भन्दै सहकार्यका लागि आग्रह गरेका थिए ।
भेटका अवसरमा हेड अफ कोपरेसन म्याथिस मेयरले संघीयता बलियो बनाउनका लागि स्वीस सरकार सहयोग गर्न तयार रहेको बताए । प्रदेश सरकारले सात वर्ष पूरा गरेको अवसरमा शुभकामना व्यक्त गर्दै उनले संघीयता कार्यान्वयनका लागि स्वीस सरकार सहयोगी बन्ने बताए । उनले प्राविधिक शिक्षा र अन्य रणनीतिक परियोजनाका लागि सहयोग गर्न स्वीस सरकार तयार रहेको स्पष्ट पारे । राजस्व वृद्धि र पर्यटन प्रवर्धन गर्ने काम राम्रो भएको चर्चा गर्दै म्याथिस मेयरले यसका लागि आफ्नो सहयोग र सहकार्य रहने उल्लेख गरे ।
स्विस सरकारले सञ्चालन गरेको परियोजना कोशी प्रदेशमा राम्रोसँग सञ्चालन भएकोमा उनले खुसी व्यक्त गरे । दुई पक्ष भेटघाटमा कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्मा र मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जीवन कार्की, सल्लाहकारहरू रवि खनाल, डा. मोहन सुवेदी र विक्रम लुइँटेलको सहभागिता रहेको थियो ।