झापा, फागुन ४ । इलामको माई नगरपालिकामा आजदेखि जिल्लास्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले गरे ।
जिल्लाको दक्षिणी क्षेत्रमा रहेको माई नगरपालिकाको सितलीस्थित खेल मैदानमा आयोजित प्रतियोगितामा जिल्लाका दशवटै पालिकाका आठसय ९५ विद्यार्थी (खेलाडी) ले भाग लिनेछन् । रेफ्री र अन्य प्राविधिक एकसय २० जना हुने आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सलआर्ट विधाका विभिन्न खेल सञ्चालन हुने खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले बताए । ‘सबै विधाका खेलमा छात्र र छात्राका अलग–अलग प्रतिस्पर्धा गराइनेछ, प्रतियोगितामा विद्यालय सम्बन्धित पालिकाको प्रतिनिधित्व रहेको छ’ अध्यक्ष बाँस्तोलाले भने ।
प्रतियोगिताका लागि १३ लाख रुपियाँ माई नगरपालिकाले सहयोग गर्ने र यस पटक समितिलाई भने केन्द्र तथा प्रदेशबाट यो प्रतियोगिताका लागि अलिकति पनि रकम नछुुट्टिएको पनि अध्यक्ष बाँस्तोलाले बताए ।
माईसहित अन्य पालिकाले गरेको सहयोगबाटै प्रतियोगितामा सहभागी हुने खेलाडि विद्यार्थी र प्रशिक्षकको खाना र बास खर्चको व्यवस्था मिलाइएको बताइएको छ । ‘तर यसपटक समितिले खर्च गर्ने रकम नहुुँदा पालिकाले मात्र गरेको सहयोगले प्रतियोगिता सम्पन्न गर्न मुस्किल हुने निश्चित छ’ अध्यक्ष बाँस्तोलाले भने । प्रतियोगिता फागुन ६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्