झापा, फागुन ४ । जिल्ला प्रहरी कार्यालय झापामै प्रहरी नायव निरीक्षक धनराज खतिवडाले झुन्डिएर आत्महत्या गरेको घटनाले आइतवार निकै चर्चा पाएको छ ।

आत्महत्याको अपराध न्यूनीकरणमा लाग्नुपर्ने प्रहरी जवानदेखि उच्च ओहोदासम्मका प्रहरी अधिकारीहरु आफैले आत्महत्या गरिरहनुलाई असामान्य रुपमा लिइएको छ । प्रहरी नायव निरीक्षक खतिवडाले पनि जिल्ला प्रहरी कार्यालयमै झुन्डिएर आत्महत्या गर्नुको पछाडि कारणहरु रहेको खुलेको छ । उनले घरायसी कारण कार्यालयमै आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले बताए । जिल्ला प्रहरी कार्यालयको तीनतले प्रहरी ब्यारेकको माथिल्लो तलामा रहेको पानी ट्यांकीमा जाने फलामको भर्याङमा उनले आत्महत्या गरेको प्रहरी निरीक्षक चौहानले जानकारी दिए ।

भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं.४ घर भई हाल मोरङ कानेपोखरी गाउँपालिका वडा नं.७ बस्ने ४९ वर्षीय खतिवडाले बिहान ६.३० बजेतिर नाइलनको डोरीको पासो लगाएका हुन् । प्रहरीले मृतक खतिवडासंग सुसाइड नोट फेला परेको नखुलाएपनि सुसाइड नोटका बारेमा आफूहरुले सुनेको कानेपोखरी ७ का वडाध्यक्ष मोहन अधिकारीले बताए ।

आज बिहान झुन्डिएर आत्महत्या गर्नुअघि खतिवडाले हिजो बेलुका आफन्तहरुलाई फोन गरेका थिए । उनले अन्तिम पटक भन्दै कुराकानी गरेको एक आफन्तले बताए । खतिवडाको घरमा श्रीमती ,एक छोरा र दुई छोरी रहेका छन् । उनको आजै अन्त्येष्टि गरिएको वडाध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्