झापा, फागुन ८ । क्यानडाको टोरन्टोमा एक नेपाली छात्रामाथि भएको सामूहिक बलात्कारका मुख्य आरोपी दोस्रोपल्ट पक्राउ परेका छन्।

एक हजार डलर धरौटी तिरेर जमानीमा रिहा भएको भोलिपल्टै उनी टोरन्टो क्षेत्रबाट पक्राउ परेका हुन्। उनीमाथि लागेका अभियोगको संख्या सात पुगेको छ।
गत क्रिसमस अर्थात् डिसेम्बर २५ तारिखमा टोरन्टोको स्कारब्रो क्षेत्रमा भएको बलात्कार घटनाका मुख्य आरोपी पनि नेपाली छात्र नै हुन्। जमानीमा छुटेपछि पीडितलाई फेरि धम्क्याएको आरोपमा उनी दोस्रोपल्ट पक्राउ परेका हुन्।
‘गत शनिवार राति छुटेको मुख्य अभियुक्त आइतवार फेरि पक्राउ परेको हो’ एनआरएनए क्यानडाकी महासचिव चन्दा अधिकारीले भनिन्, ‘रिहा भएलगत्तै धम्की दिने र मुद्दा फिर्ता लिन दबाव दिएपछि पीडितको उजुरीका आधारमा उनी दोस्रोपल्ट पक्राउ परेका हुन् ।’
एक नेपालीकै रोहबरमा रिहा भएर डेरा फर्केपछि पीडित छात्राको फोटो दुरुपयोग गर्दै नक्कली आइडी बनाई ‘हार्दिक श्रद्धाञ्जली’ लेखेर टिकटकमा पोस्ट गरेको तथा नेपालमा रहेको परिवारलाई धम्की दिएको प्रमाणका आधारमा ती छात्र पक्राउ परेका हुन्।
उनलाई सेक्सन ३३४ (बी) सीसीसी अन्तर्गत ५ हजार डलर चोरी, सेक्सन २७१ (१) सीसीसी अन्तर्गत यौन दुर्व्यवहार, सेक्सन १६२ (१) सीसीसी अन्तर्गत तस्बिर सार्वजनिक, सेक्सन २६६ सीसीसी अन्तर्गत दुर्व्यवहार, सेक्सन २६४.१ (१) (ए) सीसीसीअन्तर्गत ज्यान लिने धम्की र शारीरिक रुपमा हानि पुर्याएको तथा सेक्सन २७१ सीसीसी अन्तर्गत अर्को यौन दुर्व्यवहार मुद्दा लागेको छ।
यस्तै, बलात्कार घटनामा संलग्न अरु दुईमध्ये एक छात्र पनि दोस्रोपल्ट पक्राउ परेको पीडितलाई उद्धृत गर्दै एनआरएनए क्यानडाकी महासचिव अधिकारीले जानकारी दिइन्। ती छात्र पनि नेपाली नै हुन्। उनीमाथि पनि ‘दोहोर्याएर धम्की दिएको’ आरोप लागेको छ।
उच्च शिक्षा लिन क्यानडा गएकी नेपाली विद्यार्थी नेपाली युवाबाटै गत डिसेम्बर २५ मा बलात्कृत भएकी थिइन्। अनेक बहाना गरी नजिकिएर, अझ तिहारमा भाइटीका समेत लगाइसकेका युवाले युवतीमाथि यौन दुर्व्यवहार गरेका थिए।
प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको थियो। तीमध्ये दुईजना तारेखमा छुटेका थिए भने मुख्य आरोपी प्रहरी नियन्त्रणमै रहेकामा उनी पनि रिहा भए। तर छुटेपछि फेरि पीडितलाई धम्क्याएपछि उनी पुनः पक्राउ परेका हुन्।
घटनाबारे मुद्दा चलिरहँदा पनि पीडित युवतीलाई आरोपी स्वयं, तिनका साथी, आफन्त मात्र होइन परिवारकै सदस्यले अनेक लोभ देखाएर मुद्दा फिर्ता गर्न दबाब दिने, अस्वीकार गर्दा ज्यानै लिनेसम्मको धम्की दिइरहेका छन्।
पीडित युवतीलाई एनआरएनए क्यानडाका तर्फबाट महासचिव अधिकारीले प्रत्यक्ष निगरानीमा राखेर संस्थागत सहयोग गर्दै आएकी छन्। कलेजमा पढाइ पनि छुटेको अनि कामबाट पनि अलग रहेको अवस्थामा आर्थिक समस्या झेलिरहेकी पीडित युवतीलाई एनआरएनए क्यानडाको पहलमा सहयोग जुटाएर मद्दत गर्ने काम भइरहेको जनाइएको छ
–नेपाल टचको सहयोगमा