झापा, फागुन ९ । पूर्वी पहाडमा यातायात ब्यवसायीले आव्हान गरेको यातायातका बन्दको प्रभाव सामान्य परेको छ ।


ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केबलकारको बिषयलाई लिएर विवादका क्रममा सवारी साधनमा क्षति र चालकमाथि कुटपिट भएको भन्दै यातायात ब्यवसायीले यातायात बन्द आव्हान गरेका थिए ।

केवलकार विरोधीहरुले गरिरहेको आन्दोलनको क्रममा बिहीवार काफ्लेपाटीतर्फ स्वास्थ्यकर्मी लिएर जाने क्रममा सांघातिक आक्रमण गरी मे १ ज २५७९ नं. को सवारी साधनमाथि क्षति पुर्याएका थिए भने सवारी साधनका चालक राजकुमार पौडेललाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए ।उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

त्यस घटनाको विरोधमा मेची राजमार्ग, तमोर करिडोर र धरान–बसन्तपुर–गुफा सडक हुँदै ताप्लेजुङ जिल्ला प्रवेश गर्ने सम्पूर्ण सडक साथै जिल्लाका अन्य शाखा सडकहरुमा व्यवसायीहरुले यातायात बन्दको आव्हान गरेका थिए ।

बन्दका कारण ताप्लेजुङ सदरमुकामबाट काफ्लेपाटीतर्फ जाने यातायातका सवारी साधनहरु पूर्णरुपमा ठप्प रहेका छन् । फुङलिङ –१० काफ्लेपाटीमा यातायात ब्यवसायीहरुले गाडी तेस्र्याएर सडक अबरुद्ध गरिरहेका छन् ।तर, ताप्लेजुङबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनहरु सुचारु रहेका छन् ।

त्यस्तै पाँचथर जिल्लाबाट चल्ने ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रा.लि. का सम्पूर्ण सवारी साधनहरु ठप्प छन् । अन्य यातायात ब्यवसायी संघका सवारी साधनहरु पाँचथरबाट ताप्लेजुङ, इलाम र झापातर्फ सुचारु रहेका छन् ।

त्यस्तै इलाम नगरपालिका –९ गोलाखर्कस्थित कालिका होटल अगाडि मेची राजमार्गमा झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारी साधनहरुलाई बन्दकर्ता यातायात ब्यबसायीहरुले रोकेका छन् । तर, इलाम जिल्ला सदरमुकामभित्र चल्ने सवारी साधनलाई कुनै अबरोध नगरेको जनाइएको छ ।

यता झापा जिल्ला हुँदै इलाम, पाँचथर र ताप्लेजुङतर्फ जाने यातायातका सवारी साधनहरु सुचारु रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्