झापा, फागुन १० । पूर्वराजा ज्ञानेन्द्र शाहलाई आन्दोलनमा बोलाउँदै राजावादीहरुले झापाको बिर्तामोडमा दीप प्रज्ज्वलन गरेका छन् ।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले दिएको अभिव्यक्तिको स्वागतमा आज साँझ राजावादीहरुले बिर्तामोडको मुक्तिचौकमा दीप प्रज्ज्वलन गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिको आयोजनामा साँझ करिव ६ बजेदेखि दीप प्रज्वलन कार्यक्रम राखिएको हो । प्रजातन्त्र दिवसको अवसर पारेर नेपाली जनतालाई दिएको शुभकामना सन्देशको स्वागत गर्दै राप्रपा बिर्तामोड नगर अध्यक्ष लक्ष्मी गौतमको नेतृत्वमा पार्टीको झण्डासहित ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ , राजा आऊ देश बचाऊ, श्री ५ को आव्हानलाई स्वागत छ, राप्रपा जिन्दावाद’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर करिव ७०÷८० जना उपस्थित रहेका थिए ।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा मंगलबार ज्ञानेन्द्रले १० मिनेटको भिडियो सन्देशमार्फत अब नेपालको उन्नतिका लागि आफूले के–के त्याग गर्नुपर्ने हो तयार रहेको बताएका थिए । साथै राष्ट्र जोगाएर राष्ट्रियता कायम राख्न साथ दिन देशवासीको नाममा उनले आह्वान गरेका थिए ।

