झापा,फागुन १० । नो केबुलकार समूहले झापाको दमकमा शान्ति पदयात्रा गरेका छन् ।

आज दिउँसो दमक –५ स्थित आकाशे पुलबाट मुक्कुमलुङ (पाथिभरा) संरक्षण तथा केवलकार खारेजी संयुक्त संघर्ष समिति दमकको आयोजनामा किरात याक्थुङ चुम्लुङका दमक नगर अध्यक्ष देबेन्द्र चेम्जोङको नेतृत्वमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन (मिराक), पहिचानवादी मोर्चाकी केन्द्रीय सदस्य गंगा राई लिम्बूलगायत करिब १५० जना संघर्ष समितिका कार्यकर्ताहरु पदयात्रामा सहभागी भएका थिए । विभिन्न नाराहरु लगाउँदै प्लेकार्ड कार्ड र झण्डा बोकेर मुक्कुम्लुङ (पाथिभरा) केबलकार खारेजीको माग गर्दै दमक बजार परिक्रमा गरेका थिए ।
‘मुक्कुमलुङ गोलीकाण्ड दोषीलाई कारबाही गर, केवलकार बन्द गर, केवलकार निर्माण समूह मुर्दावाद, केवलकार – चाहिदैन, गोली हान्न पाइदैन, गोलीकाण्डको न्यायिक छानबिन गर, गोली हान्ने ओली सरकार मुर्दावाद, ताप्लेजुङका मेयर र सिडियोलाई कार्वाही गर, केवलकार खलनायक चन्द्र ढकाल मुर्दावाद, मुक्कुमलुङमा सशस्त्र क्याम्प हटाउनै पर्छ, कोशी नाम खारेज गर’जस्ता नारा उनीहरुले लगाएका थिए । उक्त शान्ति पदयात्रा आकाशे पुलबाट बेलडाँगी रोड, भृकुटी चोक, मामा चोक, फाल्गुनन्द चोक, नगरपालिका रोड, थानारोड हुँदै पुनः आकाशे पुलमा आएर कोणसभामा परिणत भएको थियो ।