झापा, फागुन ११ । पाथीभरामा केबलकार बनाउने कि नबनाउने भन्ने विषयमा झडप बढ्न थालेपछि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिका बजार क्षेत्रमा निषेधाज्ञा लगाएको छ ।


हिजो फेरि झडप भएपछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरेका हुन् । आज बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्म पाँच जनाभन्दा धेरै मानिस भेला हुन, सभा, जुलुस, प्रदर्शन वा घेराउजस्ता कार्यक्रम गर्न निषेध गरिएको छ ।

आदेश उल्लंघन गर्ने वा पालनामा अवरोध गर्ने मानिस वा समूहलाई कानूनअनुसार कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ । निषेधाज्ञा लागू गर्न चार किल्ला पनि तोकिएको छ ।सदरमुकामको पूर्वतर्फ फुङलिङ नगरपालिका ७ सल्लेरी, पश्चिममा फुङलिङ नगरपालिका ७ घोडेचौर काफ्लेपार्टी, उत्तरमा फुङलिङ नगरपालिका–४ उकालीपानी र दक्षिणमा फुङलिङ नगरपालिका ६ शेर्पाटोल, भेटनरी कञ्चनजंघा टोल क्षेत्र रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्