
झापा,फागुन ११ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर थप तीन वटा अन्तर्राष्ट्रिय हवाई कम्पनीले नियमित उडान गर्ने भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एयर इन्डिया एक्सप्रेस, स्पाइस जेट र आकाशा एयरले काठमाडौँमा नियमित व्यावसायिक उडानको तयारी थालेका हुन् ।प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले एयर इन्डिया एक्सप्रेसले हप्ताको चार वटा (महिनामा २८) र स्पाइस जेटले दैनिक एक उडानको अनुमति पाएको जानकारी दिए । उनले भने, “आकाशा एयर पनि नेपालमा उडान गर्न इच्छुक देखिएकाले उडान अनुमतिको प्रक्रियामा रहेकाले कति वटा उडान अनुमति दिने भन्ने टुङ्गो लाग्न बाँकी छ ।” एयर इन्डिया एक्सप्रेसले भारतको कोलकाता, बैङ्ग्लोर, मुम्बई र देहरादुनबाट नेपालमा उडान गर्ने गरी अनुमति मागे पनि हाललाई कोलकाताबाट उडान गर्ने गरी अनुमति दिएको उनले बताए ।
उनका अनुसार एयर इन्डिया एक्सप्रेसले फागुन १७ देखि र स्पाइस जेटले फागुन २८ देखि काठमाडौँमा नियमित उडान सुरु गर्ने छन् । भारतको राष्ट्रिय वायु सेवा कम्पनी एयर इन्डियाको भगिनी संस्था एयर इन्डिया एक्सप्रेस र भारतको छैटौँ ठुलो हवाई कम्पनी स्पाइस जेटले नेपालमा नियमित उडान थालेपछि नेपाल भित्रिने र नेपालबाट भारत जाने यात्रुलाई थप सुविधा हुनुका साथै पर्यटकको आगमनमा समेत बढोत्तरी हुने उनले विश्वास व्यक्त गरे ।
प्राधिकरणका अनुसार हाल नेपालमा १५ देशका २८ हवाई कम्पनी (तीन नेपाली कम्पनीसहित) ले अन्तर्राष्ट्रिय उडान सेवा दिँदै आएका छन् । आकाशा एयरले अनुमति पाएसँगै नेपालमा हवाई सेवा दिने वायु सेवा कम्पनीको संख्या ३१ पुग्ने प्राधिकरणले जनाएको छ । हाल नेपालमा अन्तर्राष्ट्रियतर्फ सबैभन्दा बढी चिनियाँ स्वामित्वका एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउथर्न एयरलाइन्स र सिचुवान एयरलाइन्स गरी चार वटा कम्पनीका वायुयानले उडान भर्दै आएका छन् ।