
झापा,फागुन ११ । दक्ष भएर वैदेशिक रोजगारीमा जान चाहने र विदेशबाट फर्किएर देशमै केही गर्ने योजना भएकालाई वैदेशिक रोजगार बोर्डले विभिन्न १८ वटा विधामा निःशुल्क एकमहिने तालिम दिने तयारी गरेको छ । बोर्डको सचिवालयले वैदेशिक रोजगारीमा जान चाहने एक हजार महिलासहित १६ हजार र वैदेशिक रोजगारीबाट फर्किएका पाँच हजार गरी २१ हजारलाई निःशुल्क तालिम दिने तयारी गरेको हो । यसका लागि बोर्डले तालिमप्रदायक संस्था छनोटको काम अन्तिम चरणमा पुगेको छ ।
बोर्डका अनुसार वैदेशिक रोजगारीमा जान चाहेका एक हजार महिलालाई आवासीय व्यवस्थासहितको निःशुल्क तालिम दिइने छ । त्यस्तै वैदेशिक रोजगारीमा जाने १५ हजारलाई निःशुल्क तालिम दिने तयारी छ । वैदेशिक रोजगारीका क्रममा विदेशबाट फर्केर स्वदेशमा सिप सिकेर केही गर्न चाहेका पाँच हजारलाई निःशुल्क तालिमको तयारी भएको बोर्डका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।
विगत वर्षदेखि नै देशका सातै प्रदेशमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का आङ्गिक शिक्षण संस्थामार्फत छोटो अवधि (एकमहिने) को तालिम सञ्चालन गर्दै आएको बोर्डले यस पटक विदेश जाने र विदेशबाट फर्केका गरी २१ हजारलाई तालिम दिने तयारी गरेको जनाएको छ । वैदेशिक रोजगारीबाट फर्केकालाई तालिम दिँदा विशेष गरी विदेशमा रोजगारीका क्रममा समस्यामा परेकालाई प्राथमिकतामा राखिने बोर्डका प्रवक्ता ढकालले बताए । सिटिइभिटीका आङ्गिक शिक्षण संस्थामार्फत पूर्वाधार भए स्थानीय तहमै, नभए सिटिइभिटीको पूर्वाधार जहाँ छ, त्यहाँ तालिम सुरु गरिसकेको उनले जानकारी दिए । साथै तालिममा महिला, जनजाति, आर्थिक हिसाबले विपन्नलाई विशेष प्राथमिकता दिँदै आएको उनले जानकारी दिए ।