झापा, फागुन ११ । ताप्लेजुङको फुङलिङमा केबुलकार विरोधीहरुले सर्वसाधारणको घरमा बलेको राँको फाल्दा सामान्य बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ ।

जुलुसका सहभागीहरुले सर्वसाधारणको घरमा बलेको राँको फाल्दा प्रहरीले सम्झाई बुझाई गर्दा प्रहरीमाथि नै आइलागेपछि सामान्य बल प्रयोग गरी तितरबितर पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । फुङलिङ– ५ बस्ने प्रदेश सदस्य मातृकाप्रसाद भट्टराईको घरमा समेत केवलकार खारेजी पक्षले बलेको राँकोहरु फालेको प्रहरीले जनाएको छ ।
हिजो साँझ ७.१५ बजे केवलकार खारेजी पक्षले राँके जुलुस बाल्न खोज्दा प्रहरीले खोसेर निभाउने क्रममा प्रहरीसंग झडप भएको थियो । नो केबलकार समूह’ र प्रहरीबीच भएको झडपमा २३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सुरक्षाकर्मीतर्फ ११ जना र आन्दोलनकारीतर्फ १२ जना रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी रवि रावलले बताए ।डीएसपी रावलले १५ जना आन्दोलनकारीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । झडपका क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै दुई सेल अश्रुग्यास प्रहार गरेको जनाइएको छ ।
प्रहरीको ९ वटा सिल्ड फुटेर क्षतिग्रस्त भएको छ भने दुईवटा हेल्मेट फुटेको छ । झडपमा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी सुनसरीको ४ वटा, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको २ वटा , जिल्ला प्रहरी कार्यालय इलामको २ वटा र कोशी प्रदेश प्रहरी गण रानी बिराटनगरको एउटा सिल्डमा क्षति पुगेको हो । त्यस्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको २ वटा हेल्मेट फुटेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढईको कमाण्डमा ९१ जना र सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओलीको कमाण्डमा ८० जनाको टोली परिचालन गरिएको थियो । आन्दोलनकारीतर्फ करिव ३०० जनाको उपस्थिति रहेको प्रहरीले जनाएको छ । पाथीभरामा केबलकार बनाउने कि नबनाउने भन्ने विषयमा झडप बढ्न थालेपछि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिका बजार क्षेत्रमा आज बिहानदेखि निषेधाज्ञा लगाएको छ ।