
झापा, फागुन १४ । नेपालीले आवश्यकताभन्दा बढी आयोडिनयुक्त नुन खाने प्रचलन घटाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । आवश्यकताभन्दा बढी आयोडिनयुक्त नुन उपभोगले नसर्ने रोगको जोखिम बढेकाले प्रतिव्यक्ति प्रतिदिन पाँच ग्राम मात्रै आयोडिनयुक्त नुन उपभोग गर्नु पर्छ भन्ने अभियान चलाउनुपर्ने पनि सरोकारवालाको जोड छ । आयोडिन महिनाका अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चले राजधानीमा आयोजना गरेको छलफलमा सहभागीले सो कुरामा जोड दिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको बालपोषण शाखाका प्रमुख लीलाविक्रम थापाले नेपाली उपभोक्ताले आवश्यक पर्नेभन्दा दोब्बर मात्रामा आयोडिनयुक्त नुन खाँदा नसर्ने रोगको प्रकोप बढेको पाइएको बताए । उनले अब आवश्यक मात्रामा मात्रै आयोडिनयुक्त नुन उपभोग गर्नुपर्ने अभियान चलाउनु आवश्यक छ भने ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को अध्ययन अनुसार नेपालमा आयोडिनयुक्त नुन उपभोग दैनिक नौदेखि १० ग्रामसम्म खाने गरेको पाइएको छ । जबकि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार हरेक प्रौढ व्यक्तिलाई दैनिक पाँच ग्राम आयोडिनयुक्त नुन आवश्यक पर्छ ।
नेपालीले डब्लुएचओले तोकेको मापदण्डभन्दा दोब्बर आयोडिनयुक्त नुन खाने बानीले नसर्ने रोगको स्वास्थ्यमा समस्या बढेको दाबी थापाले गरे । उनका अनुसार आयोडिनयुक्त नुनको बढी उपभोग गर्ने बानीले उच्च रक्तचाप, मधुमेह, थाइराइडलगायतका स्वास्थ्य समस्या आउँछन् ।