झापा,फागुन १४ । गत असोजको बाढीले क्षति पु¥याएका सडकको ठेक्का व्यवस्थापन फागुन मसान्तभित्र गरिने भएको छ । त्यसका लागि सबै सडकको खरिद गुरुयोजना मागिएको सडक विभागले जनाएको छ । केही सडक कार्यालयले भने गुरुयोजना पठाइसकेका र केहीको आउने क्रममै रहेको विभागका उपमहानिर्देशक एवं प्रवक्ता अर्जुनप्रसाद अर्यालले बताए ।
‘आन्तरिक रूपमा सबै सडक आयोजनालाई एक साताभित्र खरिद गुरुयोजना पठाउन भनेका हौँ,’ अर्यालले भने, ‘त्यसपछि फागुन मसान्तभित्र सबै सडकको ठेक्का व्यवस्थापन गरिसक्छौँ ।’ ठेक्काका लागि प्रारम्भिक चरणको काम सुरु भइसकेको छ । ‘सबैभन्दा बढी बीपी राजमार्गमा समस्या छ, यसका लागि पूर्वतयारीका काम सकिसकेकाले ठेक्का गरेर काम गर्न समस्या छैन,’ अर्यालले भने, ‘जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले बनाउनेबारे केही निर्णय भएको छैन, उसले कुन खण्ड बनाउने हो, निर्णय भएपछि त्यही काम अघि बढ्छ ।’ बीपी राजमार्गलाई विभिन्न खण्डमा विभाजन गरेर ठेक्का गरिने उनको भनाइ छ ।बाढी पहिरोले क्षति पु¥याएको सडक पूर्वाधार निर्माणका लागि अर्थ मन्त्रालयले गत मंगलबार स्रोत सहमति दिइसकेको छ । त्यसैले सडक र पुलको स्थायी निर्माण गर्ने गरी बाटो खुलेको विभागले जनाएको छ । बाढीले क्षति पुगेका पुलको काम भने बर्खाअघि सुरु हुने छैन । ‘पुलहरूको डिजाइनको काम भएको छैन, पुलबाहेक सबै सडकको ठेक्का गर्ने तयारी छ,’ अर्यालले भने, ‘पुलमा डिजाइन एन्ड बिल्डसम्बन्धी निर्देशिका तयार पारेर मन्त्रिपरिषद्मा पठाएका छौँ, त्यो स्वीकृत नहुँदासम्म ठेक्का प्रक्रिया अघि बढाउँदैनौँ ।’ त्यसैले पुलको ठेक्का गर्न अहिले हतार नगरेको उनको भनाइ छ । ‘पुलको ठेक्का आह्वान गरेर सम्झौता गर्दैमा दुई महिनाभन्दा बढी लाग्छ, फेरि बर्खा सुरु भइहाल्छ,’ उनले भने, ‘अहिले सर्भे, डिजाइन र ठेक्का गरेर तयारी अवस्थामा बस्छौँ, बर्खा लगत्तै निर्माणको काम थाल्छौँ ।’
अरनिको राजमार्ग, मेची राजमार्ग, बिब्ल्याटे–माईपोखरी–सन्दकपुर सडक, कान्ति राजमार्ग, चरिकोट–सिंगटी सडक, सिद्धार्थ राजमार्ग, खुर्कोट–मिल्टी र तामाकोशी–मिल्टी सडक स्थायी रूपमा निर्माण गर्न बजेट माग गरिएको हो । त्यहीअनुसार बजेट दिने निर्णय भइसकेको विभागले बताएको छ । वैकल्पिक सडकतर्फ कार्भेको भकुन्डेबेंसी–तिमाल–सिन्दुरेटार, दोलखाको किर्नेटार–जाफे र थानकोट–चित्लाङ सडक छन् । यस सडकका लागि १ अर्ब १५ करोड माग गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्