शिवसताक्षी, फागुन १४ । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ मा नवनिर्मित सत्संग भवनको उद्घाटन तथा हस्तान्तरण गरिएको छ ।

महाशिवरात्रीको अवसर पारेर सामाजिक सेवामा समर्पित तुलसादेवी ओलीद्वारा निर्माण गरिएको उक्त भवन नगर प्रमुख मेगाहाङ थोप्रा (रोशन) र उपप्रमुख नरमाया कार्कीको उपस्थितिमा ऐतिहासिक धार्मिक पर्यटकीय तीर्थस्थल चिल्लागढधाम व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।
६८ वर्षीया तुलसादेवी ओलीले आफ्ना श्रीमान् यज्ञराज ओली (गोपाल) को प्रेरणामा करिब ७ लाख रुपैयाँ खर्चेर सय जना भक्तजन अट्न सक्ने उक्त भवन निर्माण गरिदिएकी हुन् । ३० फिट लम्बाई र २५ फिट चौडाई रहेको हलमा धार्मिक तथा सामाजिक कार्यक्रमहरू सहज रूपमा गर्न सकिने स्थानीयवासीले बताए ।
कार्यक्रममा नगर प्रमुख थोप्राले ओलीद्वारा गरिएको योगदानको प्रशंसा गर्दै सामाजिक सेवामा नागरिकको सहभागिता महत्वपूर्ण हुने बताए । उनले भने, “यस्ता कामले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्छ । धार्मिक तथा सांस्कृतिक गतिविधिलाई प्रवद्र्धन गर्न यो भवन उपयोगी हुने विश्वास लिएको छु ।”
उक्त अवसरमा उपप्रमुख नरमाया कार्कीले सामाजिक सेवामा तुलसादेवी ओलीको योगदान अतुलनीय रहेको बताइन् । उनले भनिन्, “समाज परिवर्तनका लागि उहाँले पु¥याउनु भएको योगदान प्रशंसनीय छ । स्थानीय सरकार यस प्रकारका सकारात्मक कार्यमा सधैं सहकार्य गर्न तयार छ ।”
ओलीले यसअघि पनि समाज रूपान्तरणका लागि विभिन्न सामाजिक कार्य गर्दै आएकी छन् । आफूले आर्जन गरेको आम्दानीको दशांश समाजसेवामा खर्च गर्दै आएकी ओलीले झापाभित्र र बाहिरका धार्मिक तथा पर्यटकीय स्थल, सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूलाई लत्ताकपडा, खाद्यान्न, शैक्षिक सामग्री, खेलकुद सामग्री वितरण गर्दै आएकी छन् ।
उनका माइती परिवार पनि सामाजिक सेवामा सक्रिय भएकाले त्यसै संस्कारलाई निरन्तरता दिएको पत्रकार विनोद सापकोटाले बताए । सापकोटाका अनुसार तुलसा देवीका माईती स्वर्गीय बेनुप्रसाद र आमा सीतादेवी प्रसाई पनि धार्मिक स्वभावका थिए । २०१८ सालमा चौमासा पुराण लगाएर १०० गाई दान गरेका प्रसाई परिवारको प्रेरणाले सामाजिक उत्तरदायित्वअन्तर्गत निस्वार्थ सामाजिक काम गरिरहेकी छन् । तुलसाले यो भवन आफ्ना कान्छो देवर बद्रीप्रसाद ओलीको स्मृतिमा निर्माण गरिदिएकी हुन् । उनको २०७६ साल चैत्र ६ गते अमेरिकामा अल्पायुमै निधन भएको थियो।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा अन्तर पार्टी समन्वय समितिका झापा संयोजक पर्शुराम ढुंगानाले भवन निर्माणप्रति खुशी व्यक्त गर्दै भने्, “यस ठाउँमा सत्संग भवन आवश्यक थियो । अब विभिन्न धार्मिक तथा सामाजिक गतिविधिहरू गर्न सहज हुनेछ । तुलसा आमाले देखाएको उदाहरण प्रेरणादायी छ ।” उनले समाजमा व्यक्तिहरूले आफ्नो सामथ्र्यअनुसार योगदान गर्नुपर्छ भन्ने उदाहरण तुलसा आमाले प्रस्तुत गरेको उनले बताए । यो भवनले चिल्लागढधाम क्षेत्रलाई थप पहिचान दिने ढुंगानाले बताए ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, स्थानीय बुद्धिजीवी, पत्रकार तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो । सत्संग भवन उद्घाटनपछि शिव भजनकीर्तन गर्दै नाचगान गरेका थिए । कार्यक्रममा धाम समितिका सचिव विरेन्द्र अधिकारीले स्वागत गरेका थिए भने संचालन वेदनिधि अधिकारीले गरेका थिए ।