बिर्तामोड , फागुन १७ । झापा बिर्तामोड–३ बिर्ताबजारमा रहेको गरामनी कृषि सहकारी संस्था लि. को सञ्चालक समितिको अध्यक्षमा पुनः ताराप्रसाद चापागाँई निर्वाचित भएका छन् ।

संस्थाको आज भएको १७ औं बार्षिक साधारणसभाबाट चापागाँई सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
त्यसैगरी सञ्चालक समितिको उपाध्यक्ष पूजा आपागाँई, सदस्यमा मेनुका राई, कुमारी बास्कोटा, दिनेशलाल राजवंशी, तुलाराम गुरुङ, पुण्यप्रसाद रिजाल, धनबहादुर गुरुङ र गोपाल घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् । यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा तारादेवी आपागाँई र सदस्यमा हरिनारायण चौधरी र चिन्तामणि पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् । समितिको चार बर्षे कार्यकाल रहेको छ ।
संस्थाका अध्यक्ष ताराप्रसाद चापागाँईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाका कर्जा प्रमुख देबीप्रसाद चापागाँईले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि ढकाल, जिल्ला सहकारी संघ झापाका सह–सचिब कृष्णप्रसाद मिश्रलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी ब्यवस्थापक मनिता घिमिरेले गरेकी थिइन् ।
आर्थिक बर्ष २०८०÷०८१ मा शेयर पुँजी एक करोड ६४ लाख ७३ हजार २०० रुपैयाँ रहेको संस्थामा २ हजार १६५ जना शेयर सदस्य रहेको संस्थाका अध्यक्ष चापागाँईले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । अध्यक्षको प्रतिवेदन अनुसार कोष हिसाव ३७ लाख ९८ हजार ८३६ रुपैयाँ, बचत हिसाव ३ करोड ७६ लाख १७ हजार २६३ रुपैयाँ , संस्थाको लगानी ७ लाख २७ हजार १००, लगानीमा रहेको ऋण ७ करोड ३९ लाख ४६ हजार २३८ रुपैयाँ , आम्दानी हिसाव ७५ लाख ७१ हजार ७५२ रुपैयाँ र खर्च हिसाव १ करोड ४९ लाख ४० हजार ४५२ रुपैयाँ रहेको छ ।