बिर्तामोड, फागुन १८ । बिर्तामोड नगरपालिकामा अनियमितता, भ्रष्टाचार र विकृति देखिएको भन्दै त्यसविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिले नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।

राप्रपाका बिर्तामोड नगर अध्यक्ष लक्ष्मी गौतम नेतृत्वको टोलीले नगरपालिकाका कार्यवाहक नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई २८ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा नगरपालिकामा भइरहेको अनियमितता , कृषि बजारको विकृति, शिक्षा क्षेत्रमा देखिएको समस्या , जग्गा अतिक्रमणजस्ता विषयलाई उठाइएको छ ।

ज्ञापनपत्रमा बिर्तामोड नगरपालिकाभित्र विकास निर्माणका कार्ययोजनाहरु सम्पन्न भइराख्दा अनुगमन समितिले कागजीरुपमा मात्र अनुगमन गर्ने गरेको आरोप लगाउँदै अनुगमनलाई पारदर्शी र सहज बनाउन नियमित अनुगमन गर्ने व्यवस्था गर्न माग गरिएको छ । त्यस्तै उपभोक्ता समिति निर्माण गर्दा एकदलीय प्रभावबाट नभई सर्वदलीय प्रभाव एवं टोल विकास संस्थाको उपस्थितिमा उपभोक्ता समिति निर्माण गरि विकास निर्माणमा सबैको अपनत्व रहने व्यवस्थाको थालनी गर्न माग गरिएको छ ।

कृषिथोक बजारमा बेथिति नै बेथिति रहेको आरोप

बिर्तामोडको कृषि थोक बजारमा रहेको बेथितिलाई राप्रपाले प्रमुखताका साथ उठाएको छ । कृषिथोक बजार कृषकको बजार नभएर बिचौलियाहरुको बजार भएको वास्तविकतालाई उठान गरिएको हो । कृषिथोक बजारमा होलसेल व्यापारी र खुद्रा व्यापारीबीच असमझदारी बढ्न गई अप्रिय घटना घट्न सक्ने भन्दै कृषिथोक बजार व्यवस्थापन समिति कृषकहरुको बिरुद्धमा उभिएको आरोपसमेत लगाइएको छ ।

त्यस्तै कृषिथोक बजारभित्र दुई करोड अठार लाख रुपैयाँमा निर्माण भएको चिस्यान केन्द्रमा भ्रष्टाचार भएको भन्दै छानबिन गर्न माग गरिएको छ । सो संरचनाको हिसाब किताब कहाँबाट कसरी फरफारक भयो सम्बन्धित निकायमा अनुगमन गरी ÷गराई गलत भएको भए कारवाहीको प्रक्रिया अगाडी बढाउन आग्रह गरिएको छ ।

त्यस्तै कृषि बजार क्षेत्रभित्र निर्माण भएको सार्वजनिक शौचालयमा पनि भ्रष्टाचार भएको दावी गरिएको छ । शौचालयमा लागेको भनिएको ६५ लाख रुपैयाँ खर्च भए नभएको छानविन गर्न राप्रपाले माग गरेको हो । त्यस्तै कृषिथोक बजारभित्रका ८४ वटा सटर पसलहरु निर्देशिकाबिपरित नामसारी गरी आर्थिक अनियमितता भएको भन्दै सोको अनुगमन गरी कारवाही प्रक्रिया अगाडी बढाउन आग्रह गरिएको छ ।

बिर्तामोडको कृषिथोकनजिकै बुधबारे हटिया बजारमा केही वर्षअघि डोजर लगाएर सयौं साना व्यापारीहरुलाई बिस्थापित गराउने काम गरिएको थियो । तर हालसम्म उक्त जग्गामा कुनै किसिमको भौतिक संरचना निर्माण नगरिएपछि के प्रयोजनका लागि खाली गरिएको हो स्पष्ट पारिदिन राप्रपाले माग गरेको छ ।

सरकारी जग्गामा अनाधिकृत अतिक्रमण

बिर्तामोडमा रहेका सार्वजनिक जग्गामा भइरहेको अतिक्रमणका बारेमा राप्रपाले ध्यानाकर्षण गराएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा रहेको भद्रपुर माविको जग्गामा अनाधिकृतरुपमा अतिक्रमण गरी बसोबास गर्ने गरेको पाइएको हो । सो विद्यालयको जग्गामा बिचौलियाहरुबाट आफूखुशी किनबेच गर्ने गराउने ,आयस्रोत नदेखाउने गरेको पाइएकोले उक्त विद्यालयको जग्गा नापजाँच गरि छुट्याई अतिक्रमण गर्ने भूमाफियालाई कारवाही गर्न माग गरिएको छ । त्यस्तै बिर्तामोड नगर क्षेत्रभित्र रहेका अन्य सरकारी जग्गाहरु भूमाफियाहरुबाट अतिक्रमण भएका छन् । विर्तामोड क्षेत्रभित्र रहेका यस्ता सरकारी जग्गाहरुको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएको हुँदा तत्काल सरकारी जग्गा संरक्षण गर्न आग्रह गरिएको छ ।

गलत गर्ने सहकारीलाई राजनीतिक संरक्षण

बिर्तामोडका सहकारी संस्थाहरुबाट समेत धेरै निक्षेपकर्ताहरु पीडित भएका छन् । उनीहरुले आफूले जम्मा गरेको निक्षेप फिर्ता पाएका छैनन् । राप्रपाले त्यसतर्फ स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।

‘बिर्तामोड क्षेत्रभित्र रहेका सहकारी तथा वित्तीय संस्थाबाट थुप्रै बचतकर्ताहरु पीडित भएका छन् बचतकर्ताहरुको पैसा फिर्ता भएका छैन राजनीतिक संरक्षणबाट सहकारीहरूले सहजता पाइरहेको अनुभूति राप्रपाले गरेको छ यसतर्फ ध्यानदिन आग्रह गर्दछौं ।’ ज्ञापनपत्रमा भनिएको छ ।

स्वदेशी मजदुरको हकहितमा ध्यानाकर्षण

ज्ञापनपत्रमा मजदुरहरुको हकहितको विषय पनि उठान गरिएको छ । भौतिक संरचना निर्माण गर्दा सस्तो काम गरिदिने बहानामा दोस्रो मुलुकबाट आएका ठेकेदार र कामदारले गर्दा स्थानीय स्तरमा लाइसेन्सप्राप्त निर्माण व्यवसायीहरु र श्रमजीवी कामदारहरु विस्थापित भइरहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गरिएको छ । त्यस्तै बिर्तामोड नगरपालिकामा सूचीकृत भएका मजदुरहरुको कोषबाट पाउने सेवा सुविधा प्रभावकारी ढंगबाट वितरण नभएकोले सूचीकृत मजदुरहरुको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था स्थानीय सरकारबाट गर्न माग गरिएको छ ।

जनता आवास र गिटी बालुवामा अनियमितताको आशंका

राप्रपाले जनता आवास निर्माणमा अनियमितता भएको ठहर गरेको छ । सर्वदलीय संयन्त्र निर्माण गरी अनुगमनको लागि पहल गर्न माग गरिएको छ । त्यस्तै बिर्तामोड नगर क्षेत्रभित्र ग्राभेल, गिटी, बालुवा लगाउने कार्यमा अनियमितता देखिएको आरोप लगाइएको छ । बाटोको सर्वेक्षण नगरी राजनीतिक संरक्षणमा लगाउनु पर्ने ठाउँमा नलगाएर अन्यत्र लगाइएको दावी छ । सो कार्य तत्काल रोकी सर्वदलीय र सर्वपक्षीय छनोटबाट गिटी, बालुवा ग्राभेल गर्न माग गरिएको छ ।
त्यस्तै बितामोड नगरपालिकाका नगर प्रमुख नै शेयरमा रहेका संस्थाहरुमा नगरपालिकाको रकम लगानी गरिएको पाइएको भन्दै सो कार्य अविलम्ब बन्द गर्न माग गरिएको छ । बिर्तामोड नगरपालिका लेखा परीक्षकको प्रतिवेदनबाट अत्यधिक बेरुजुको सूचीमा परेको समाचार प्राप्त भएकाले के कारण यति ठुलो बेरुजु भएको हो यस्ता कुराहरु सार्वजनिक सुनवाईमार्फत सर्वसाधारणलाई सूचित गर्न आग्रह गरिएको छ ।

खानेपानीमा पनि भ्रष्टाचार भएको दावी

त्यस्तै खानेपानीमा पनि भ्रष्टाचार भएको दावी गरिएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ९ मा खानेपानी ट्यांकी ६५ लाख रुपैयाँमा निर्माण भएको छ । त्यो अपुरो र जीर्ण अवस्थामा रहेको खानेपानी योजनामा खर्च भएको रकम फरफारक नभएको बताइएको छ । राज्यको त्यति ठुलो लगानी व्यक्तिको नाममा दर्ता रहेको जग्गामा निर्माण भएको बुझिएको छ । तत्काल सो जग्गा खानेपानी संस्थाको नाममा दर्ता गरि सो लागत रकमको फरफारक गर्न माग गरिएको छ । त्यस्तै विर्तामोड नगरपालिका वडा नम्बर ७ मा रहेको खानेपानी ट्यांकीको अवस्था र त्यसको व्यवस्थापन फितलो रहेको भन्दै सोको अनुगमन गरी उपभोक्ताहरुसमक्ष पारदर्शीताको लागि माग गरिएको छ ।

शिक्षामा बेथिति भएको आरोप

भर्खरै महेन्द्ररत्न माविको विद्यालय व्यवस्थापन समिति अवैधानिक तवरले गठन भएको दावी गरिएको छ । गणपुरक संख्या नपुगीकन दुईदलीय संयन्त्रबाट निर्माण भएको सो विद्यालय व्यवस्थापन समिति तत्काल भंग गरि तोकिएको कार्यविधिबमोजिम नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्न माग गरिएको छ । साथै अन्य सामुदायिक विद्यालयहरुमा पनि सोहि ढंगबाट विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया सुरु गर्न मागसमेत गरिएको छ । सामुदायिक विद्यालयहरुमा निःशुल्क शिक्षा हुनु पर्नेमा विभिन्न बहाना देखाई शुल्क लिएकाले सो कार्य तत्काल बन्द गरि स्थानीय सरकारले निःशुल्क शिक्षा लागु गर्न माग गरिएको छ ।
त्यस्तै निजी विद्यालयहरुले नियमानुसार दिनुपर्ने १० प्रतिशत छात्रवृत्ति कतै नदिएको, कतै वास्तविक विद्यार्थीलाई नदिई पहुँचका आधारमा आफ्नो परिवारका व्यक्तिहरुलाई दिएको बुझिएकाले प्रभावकारी अनुगमनसहित सोको विवरण सार्वजनिक गर्न माग गरिएको छ ।

यस्ता छन् अन्य माग

बिर्तामोड नगपालिका, वडा कार्यालय समेतमा करारमा काम गरिरहेका कर्मचारीहरु कति छन् ? के काम गरेबापत के कति सेवा सुविधा लिन्छन् ? कुन प्रक्रियाबाट कर्मचारी नियुक्त गरिन्छ सोको जानकारी सार्बजनिक गर्न , बिर्तामोड क्षेत्रमा लागूऔषध दुव्र्यसनीहरुको बिगबिगी रहेकोले स्थानीय सरकारले त्यसतर्फ ध्यान दिएर सरोकारवाला संघ संस्थाहरुसंग समन्वय गरि नियन्त्रण गर्न , बिर्तामोड नगरपालिकामा बैदेशिक रोजगार परामर्श केन्द्रको स्थापना गर्न , पालिकाभित्र बैदेशिक रोजगारमा जानेको अभिलेख राख्न , विर्तामोड नगरक्षेत्र भित्र लगाइने मेला महोत्सवहरुबाट हुने ध्वनि प्रदूषण, विद्यार्थीहरुलाई पर्ने प्रत्यक्ष असर, स्वीकृति लिएकोभन्दा अन्य फरक प्रकृतिका जुवाजन्य खेलहरु लगायतको अनुगमन गरि विकृतिजन्य कुराहरुको न्यूनीकरण गर्न , नगर अस्पतालमा स्वास्थ्य सेवा लिन आउने बिरामीलाई सेवा प्रवाहमा असहज र झन्झटिलो भएको गुनासो रहेको हुँदा यस विषयमा आवश्यक अनुगमन गरि सेवा प्रवाह सहज गर्न , बिर्ताबजारमा निर्माण सम्पन्न भैसकेको व्यापारिक भवन तुरुन्त संचालन गरी नगरपालिका अगाडी शिवालय मन्दिर परिसरभित्र रहेका अव्यवस्थित संरचना खाली गराई मन्दिर क्षेत्रलाई घेराबारा गरि यथाशिघ्र संरक्षण गर्न माग गरिएको छ । आफूहरुको ध्यानाकर्षण पत्रलाई बेवास्ता गरि समस्या समाधान नगरे आन्दोलन अघि बढाउने चेतावनीसमेत दिइएको छ ।

१ प्रतिक्रिया

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्