झापा , फागुन १९ । झापाको गौरादहमा आफ्नै भतिज बुहारीलाई कुटपिट गरी गंभीर घाइते बनाउने काका ससुरा पक्राउ परेका छन् ।

आज बिहान अन्दाजी ७.३० बजे गौरादह नगरपालिका वडा नम्बर–१ सितापुरी बस्ने ३४ वर्षीया कोपिला न्यौपानेलाई सोही ठाउँ बस्ने उनकै काका ससुरा अन्दाजी ५१ वर्षीय धनप्रसाद न्यौपानेले लेनदेनको बिषयमा विवाद भई कुटपिट गरेका हुन् । झैझगडा हुँदा धनप्रसादले दाउराले घाँटी र हातमा प्रहार गरी कोपिलालाई घाइते बनाएको प्रहरीले जनाएको छ ।

घाइतेलाई मेडिम्याक्स अस्पताल गौरादहमा ल्याई उपचार भइरहेको छ । घाइतेको अवस्था मध्यम रहेको छ । घटनापछि इलाका प्रहरी कार्यालय गौरादहबाट प्रहरी टोली खटिएर कुटपिट गर्ने धनप्रसादलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्