झापा, फागुन १९ । सप्तरीको मलेठस्थित एक स्याउ गोदामबाट सोमबार ठूलो परिमाणमा गाँजासहित अन्य विभिन्न मालसामान बरामद भएको छ ।

राजविराज नगरपालिका–९ मलेठस्थित गोदामबाट ८० वटा बोरामा २४ क्वीन्टल गाँजा बरामद भएको हो ।
राजविराज–रूपनी सडकको पश्चिमतर्फ रहेको गोदाममा दुई वटा ट्रकमा मालसामान लोड–अनलोड भइरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल आफैंले देखेपछि सोधखोज गरेका थिए । तर, गोदाम धनी नआएपछि शंकाको आधारमा थप सुरक्षाकर्मी बोलाएर गोदाम फुटाई चेकजाँच गर्दा उक्त गाँजासहितका मालसामान फेला परेको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।
गोदामभित्र भारतीय र नेपालीसहित तीन वटा नम्बर प्लेट भएको एउटा स्कोरपिओ गाडी पनि फेला परेको छ । सोही गोदामभित्र ठूलो परिमाणमा स्याउ, चिनी, सुर्ती, स्यानिटिरी प्याड, कपडा, काँटी समेत बरामद भएको छ ।
प्रारम्भिक अनुसन्धानमा उक्त गोदाम रोशन यादवको भएको पाइएको रहेछ । गोदाम भएको घरधनीले यादवलाई भाडामा दिएको विषय आइरहेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त गोदाममा गाँजाबाहेक बरामद भएका अन्य सरसामानको मुचुल्का उठाउने काम प्रहरीले गरिरहेको छ ।