झापा, फागुन १९ । आगामी चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनका लागि समाजवादी मोर्चाले झापामा कार्यदल बनाउने भएको छ ।

आज साँझ बिर्तामोडमा बसेको समाजवादी मोर्चा झापाको बैठकले स्ववियू निर्वाचनको लागि मोर्चासंबद्ध विद्यार्थी संगठनहरुका २–२ जना प्रतिनिधिहरु रहेको एक संयोजनकारी कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले शहीदहरु दिलबहादुर रम्तेलदेखि सुखानीमा बलिदान दिने शहीदहरु तथा देश र जनताको पक्षमा बलिदान दिने सम्पूर्ण शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने , फागुन २१ गते शहीद सप्ताह सुखानी दिवस सुखानी शहादतस्थलमा समाजवादी मोर्चाले संयुक्तरुपमा कार्यक्रम गरी मनाउने , सुखानी शहादतस्थलमा उपस्थितिको लागि मोर्चाआवद्ध दलका नेताहरुले मातहत कमिटीलाई परिचालन गर्ने , ८ मार्च ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसलाई संयुक्तरुपमा कार्यक्रम गरी मनाउन नेकपा माओवादी केन्द्रकी लक्ष्मी न्यौपानेको नेतृत्वमा अन्य दलहरुबाट महिला प्रतिनिधि रहने गरि कार्यदल निर्माण गर्ने , आगामी चैतको पहिलो साता झापामा नेकपा महासचिव तथा समाजवादी मोर्चाका संयोजक नेत्रबिक्रम चन्द (विप्लब) को भ्रमण तथा भेटघाट रहेको जानकारी दिँदै सो सन्दर्भमा मोर्चाआवद्ध दलका नेता कार्यकर्ताहरुसंगको अन्तरक्रिया तथा छलफल मोर्चाले आयोजना गर्ने , पहिचानसंग सम्बन्धित आन्दोलनमा देखिएका जनताका समस्यासंग सम्बन्धित विषयहरुलगायत जनसरोकारका सम्पूर्ण विषयहरुबारे मोर्चाको आगामी बैठकले ठोस कार्यक्रम गर्ने निर्णय गरेको जनाइएको छ ।
समाजवादी मोर्चा झापाको आयोजनामा मोर्चाका झापा जिल्ला संयोजक एवं नेकपा (बिप्लव) झापा जिल्ला इन्चार्ज सुमनसिंह पौडेलको अध्यक्षतामा भएको बैठकमा नेकपा (माओवादी केन्द्र) का झापा जिल्ला अध्यक्ष राजु आचार्य (अग्नि), केन्द्रीय सदस्य एवं झापा जिल्ला इन्चार्ज रन्जित तामाङ, नेकपा (एकीकृत समाजवादी) का झापा जिल्ला अध्यक्ष बेदराज रेग्मी, पार्टीका कोशी प्रदेश कमिटी सदस्य बासु दुलाल, नेकपा (बिप्लव) का झापा जिल्ला सदस्य एवं न्याय विभाग झापाका प्रमुख अर्जुन पाण्डेलगायतको उपस्थिति रहेको थियो ।