
झापा, फागुन २१ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्ट उद्योगी र निर्माण व्यवसायीहरूसँग छलफल गरेका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले सिमेन्टको मूल्य नघटेको गुनासो गरेपछि मन्त्री भण्डारीले दुवै पक्षसँग छलफल गरेका हुन् ।
छलफलका क्रममा निर्माण व्यवसायीले सिमेन्ट उत्पादकले बढाएको मूल्य यथावत् राखेको गुनासो गरेका छन् भने उत्पादकले मूल्य घटेको दाबी गरेका छन् । उद्योगमन्त्री भण्डारीले सिमेन्ट उद्योगीले सहमति कार्यान्वयन नगरेको अवस्थामा सरकारले अन्य विकल्प खोज्न बाध्य हुने बताए ।
गत महिना सिमेन्टको भाउ अस्वाभाविक रूपले बढाइएको आमउपभोक्ता तथा निर्माण व्यवसायीको गुनासो थियो । सिमेन्ट उत्पादक र निर्माण व्यवसायी एकअर्काका परिपूरक भएकाले नजिकको दुरी बनाएर अघि बढ्न मन्त्री भण्डारीले सुझाव दिए ।
निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रविसिंहले अधिकांश सिमेन्ट उद्योगीले बढेकै मूल्यमा कारोबार गरिरहेको गुनासो गरे । “जिल्ला दररेटमा केही रकम थप गरेर बिक्री गर्न भएको सहमति कार्यान्वयन भएको छैन,” उनले भने, “केही उद्योगीले धेरथोर मूल्य घटाए पनि अधिकांशको मूल्य यथावत् छ ।”
सिमेन्ट उत्पादकले कार्टेलिङसमेत गरिरहेको निर्माण व्यवसायीको आरोप छ । सिमेन्ट उत्पादकले भने गत महिना मन्त्री भण्डारीकै पहलमा भएको सहमतिलाई कार्यान्वयन गरेको दाबी गरेका छन् । उनीहरूले जिल्ला दररेट कायम गर्ने बेलाको औसत मूल्यभन्दा ११५ रुपियाँ बढीमा सिमेन्ट बिक्री गरिरहेको दाबी गरेका छन् । सो मूल्यभन्दा दायाँबायाँ भएको अवस्थामा आफूहरू कारबाही सहन तयार रहेको उनीहरूको प्रतिबद्धता छ ।