
झापा,फागुन २२ । सूर्योदय नगरपालिकाले क्यान्सर रोगको जोखिम हुन नदिन विषादी प्रयोगमा कडाइ गर्न थालेको छ । नगरका किसानले तरकारी लगायत अन्य बालीमा विषादीको मात्रा बढाउन थालेपछि नगरपालिकाले कडाइ गर्न थालेको हो । नगरपालिकाले अग्र्यानिक चिया उत्पादन अभियान नै सञ्चालन गर्न किसानलाई प्रोत्साह समेत गरिराखेको छ । “हामीले उत्पादन गरेको चियाले आफैँ रोगको सिकार हुनुपर्यो भने विश्व बजारमा बिक्री गर्न सकिदैन । ” नगरप्रमुख रणबहादुर राईले भने, “हामी बिष खाँदैनौ, बिष बेच्दैनौ । विगत बर्षदेखि अग्र्यानिक उत्पादन गर्ने भनेर अभियान चलाईएपनि तथ्याङ्कहरुले बिषादीको प्रयोग देखाएकाले अब कडाइका साथ बिषादी नियमन गर्छौ ।”
नगरपालिकाले गत दुई आर्थिक बर्षमा विपन्न नागरिक सहायता कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवाका लागि आर्थिक सहयोगमा लागि सिफारिस गरिएका बिरामीहरुमध्ये सबैभन्दा बढी क्यान्सर रोगी देखिएका छन् । आब २०७९÷०८० मा सिफारिस गरिएका ५७ जना बिरामी मध्ये सबैभन्दा बढी ४० जना क्यान्सर पीडित थिए भने मिर्गौलाका १० र मुटुका ७ बिरामी थिए । त्यसैगरी गत आबमा यो तथ्याङ्क वृद्धि भएर कुल सिफारिस संख्या ८२ पुग्यो । सो तथ्याङ्कमा पनि क्यान्सरका सबैभन्दा बढी ५० बिरामी छन् । त्यसैगरी मिर्गौलाका २०, मुटुका ३ र टाउकोमा चोट भएका ३ जनाको स्वास्थ्य सेवाका लागि सिफारिस गरिएको सूर्योदय नगरपालिका स्वास्थ्य शाखाका प्रमुख विपुल अधिकारीले जानकारी दिएका छन् ।
चालु वर्षमा यो तथ्याङ्क अझ वृद्धि हुने अनुमान छ । यी त नगरपालिकामा स्वास्थ्य सेवा पाउन माग गर्दै पेश भएका निवेदनका आधारमा उपलब्ध तथ्याङ्क मात्र हो । यस बाहेक पालिकाको सम्पर्कमा नआएर उपचार गरिरहेका वा ज्यान गुमाएका क्यान्सर पीडित धेरै छन् । सबैमा क्यान्सर रोगको कारण चियाको बिषादी मात्र नभएपनि अधिकांश कारण भने बिषादी नै भएको हुनसक्ने सूर्योदय–८ का वडाध्यक्ष जङ्ग गुरुङ्गले बताए । “क्यान्सरकै कारण मैले गत बर्ष परिवारको एक सदस्य गुमाएँ । धेरै ठाउँ डाक्टरलाई देखाउँदा बिषादीकै कारण रोग लागेको बताए ।” उनले, “झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालदेखि राजधानीका थुप्रै अस्पतालका बरिष्ट डाक्टरहरुले बिषादीलाई कारण देखाए ।”
चियाको टिपाइ सुधार गर्न भन्दै नगरपालिकाले गतबर्ष तीन सय किसानलाई चिया टिप्ने हाते मेसिन वितरण गर्यो । “टिपाइमा सुधार भइसकेपछि न्यूनतम समर्थन मूल्य कार्यान्वयन हुन्छ । करिब तीन सय ओटा चिया टिप्ने हाते मेसिन वितरण भएको छ । यो वितरण यस बर्ष पनि हुन्छ । चियालाई ‘ब्रान्डिङ’ गर्नुपर्छ, ‘टी’ परीक्षण गर्नुपर्छ भनेर निर्माण गरिएको ‘टी टेस्टिङ एन्ड रिसर्चिङ सेन्टर’ सञ्चालनमा आईसकेको छ ।”
नगरपालिकाको दीर्घकालीन सोचको नारा नै ‘सूर्योदय नगरपालिकाको समृद्धि, प्राङ्गारिक कृषि पर्यापर्यटन र आर्थिक समानता’ भन्ने रहेको छ । २०७५ साउन १ गते नै निषेधित विषादी मुक्त पालिका घोषणा गरी सबै १४ वडाका दुई सय ५२ टोलमा सचेतना कार्यक्रम भइसकेको नगर आर्थिक विकास समितिका संयोजक देवेन्द्र आचार्यले बताए । उनले भने,‘गोठ सुधार, भकारो सुधार, माटो परीक्षणजस्ता कार्यक्रममार्फत प्राङ्गारिक उन्मुख अभियान चलाइरहेका छौँ ।’
नगरपालिकाले चियाबाट नै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । कार्यविधि बनाएर गुणस्तर सुधार गर्न लागिपरेको सूर्योदयले चियामा विषादीको प्रयोग रोक्न नसक्दा आलेचना खेप्नु परिरहेको छ । अर्कातिर किसानलाई प्राङ्गारिक खेतीमा आकर्षित गर्न अनुदानको कार्यक्रम छैन । प्रमुख प्रशासकिय अधिकृत अमृतबहादुर राईले भने ‘८० प्रतिशतभन्दा धेरैको आयस्रोत बनेको चियामा प्रतिकिलो रु एक अनुदान दिँदा पनि करोडौँ लगानी चाहिन्छ । स्थानीय सरकारको एक्लो प्रयासले सहजै किसानको समस्या समाधान हुने देखिँदैन । प्रदेश र सङ्घले चिया सुधार गर्न लगानी नगर्दा स्थानीय सरकार मर्कामा परेको छ । ”
नेपाली चियाको अन्तरराष्ट्रिय ‘ब्रान्डिङ’ प्रवद्र्धनका लागि सहयोग, साना किसानका लागि हरियो पत्ती उत्पादनका आधारमा उखुमा जस्तै अनुदान दिनुपर्ने माग उद्योगीले गरेका छन् ।