
झापा,फागुन २३ । शनिबार सुरु हुने पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकपको तयारी पूरा भएको छ । फिदिम माध्यामिक विद्यालयको खेल मैदानमा अपराह्न २ बजे हुने उद्घाटन खेलमा आयोजक पाँचथर क्लब र इन्ट्रा पथरी फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजक पाँचथर क्लबले जनाएको छ ।
प्रतियोगिताका लागि प्याराफिट व्यवस्थापन र मैदानको स्तरवृत्ति लगायतका तयारी पूरा भएको पाँचथर क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए ।
यस संस्करणका विजेतालाई ११ लाख १ हजार १ सय ११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने अध्यक्ष तुम्रोकले जानकारी दिए । उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ नगद प्राप्त गर्नेछन् । खेल फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ । प्रतियोगिताका प्रत्येक खेलमा म्यान अफ द म्याचसहित म्यान अफ द सिरिज, राइजिङ प्लेयर, बेस्ट गोलकिपर, हाई स्कोरर, बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर र बेस्ट कोचलाई जनही ५ हजार ५ सय रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा १ सय २८ जना खेलाडी र अफिसियलसहित २ सय दर्शकको दुर्घटना बिमा गरिने पनि आयोजकले जनाएको छ ।