भद्रपुर, फागुन २३ । २०२२ सालमा स्थापित झापाको सदरमुकाम चन्द्रगढीस्थित वीरेन्द्र माध्यमिक विद्यालयले ५९औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।


विद्यालय परिसरमा शुक्रबार आयोजित कार्यक्रमको उद्घाटन भद्रपुर नगर पालिकाका प्रमुख गणेश पोखरेलले गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट शिक्षिकासहित छात्राछात्रलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै पोखरेलले नगरपालिकाले पर्याप्त बजेट नभए पनि शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकमा राखेको बताउँदै विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रधानाध्यापक खिलाराज कोइरालाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको आर्थिक , भौतिक लगायतका विषयलाई उजागर गर्दै समस्या र चुनौतीका वारेमा प्रकाश पारेका थिए ।

उनले विद्यालय स्थापनादेखि हालसम्मका गतिविधिका बारेमा समेत प्रकाश पार्नुका साथै वर्तमान परिस्थितिमा विद्यालयका चुनौती र भावी कार्यक्रमसहित वार्षिक प्रतिवेदन प्रस्तुत गरे । त्यस अवसरमा उत्कृष्ट शिक्षिका मन्जु चौधरीलाई नगदसहित प्रशंसापत्र प्रदान गरेर सम्मान गरिएको थियो ।कार्यक्रममा कक्षा ८ ,९ र १० मा अध्ययनरत उत्कृष्ट १२ जना छात्रछात्रालाई विभिन्न कोषबाट प्राप्त रकमबाट पुरस्कार प्रदान गरिएको थियो । यसैगरी खेलकुदलगायतका विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने ५ दर्जन बढी विद्यार्थीलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

उत्कृष्ट छात्र छात्रालाई धर्मप्रसाद घमचन्द्र स्मृति छात्रवृत्ति, स्व. डिल्लीप्रसाद भट्टराई स्मृति कोष छात्रवृत्ति , स्वं विधानाथ पवित्रादेवी तिम्सिना अक्षयकोष र केशर जमुना स्मृति छात्रावृत्ति पुरस्कारबाट छात्रवृत्ति वितरण गरिएको प्रअ कोईरालाले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष असारु राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व प्रधानाध्यापक शिक्षक ,विद्यार्थी ,दातालगायतको सहभागिता रहेको थियो ।

शिक्षक गिरीधर शर्मा कट्टेलले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका मन्जु दाहालले गरेकी थिइन् । कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुबाट विभिन्न गीत तथा नृत्यसहित सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्