झापा, फागुन २४ । सामुदायिक वनको पुनर्स्थापना र संरक्षणमा प्रत्यक्ष संलग्न रहेका महिलाहरुले ११५ औ अन्तर्राष्ट्रिय महिला दिवस मनाएका छन् ।

दैनिकी घाँस दाउराका लागि जङ्गलमा निर्भर रहने महिलाहरूलाई उपस्थित गराई भद्रपुरको दियालो सामुदायिक वनमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हो । फरेस्ट एक्सन नेपाल र सामुदायिक जिल्ला महासंघ झापा फेकोफनको समन्वयमा जलथल जैविक विविधता व्यवस्थापन कार्यक्रमअन्तर्गत सो कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा भद्रपुर नगरपालिका अन्तर्गतका पाँचवटा सामुदायिक वनहरु मायालु, कमलधाप रामपोखरी, विशाल, दियालो र दशरथपुर सामुदायिक वनका ३९ जना महिलाहरूको उपस्थिति रहेको थियो। दशरथपुर सामुदायिक वनकी सचिव गङ्गाकुमारी लम्सालको अध्यक्षता रहेको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी र दियालु सामुदायिक वनका अध्यक्ष अरुण राईको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा कमलधाप रामपोखरी सामुदायिक वनकी सचिव मनकुमारी राईले स्वागत मन्तव्य राखेकी थिइन् । जलथल जैविक विविधता व्यवस्थापन कार्यक्रमका फिल्ड अधिकृत मुना भट्टराईले जलथल वन यसको जैविक विविधता साथै यसका चुनौतीको बारेमा विस्तृत रुपमा प्रस्तुति दिएकी थिइन् । सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष भण्डारीले महिलाहरूको हक तथा अधिकारहरूको कानुनी व्यवस्थाका बारेमा जानकारी दिएका थिए ।

यसका साथै विभिन्न क्रियाकलापहरू पनि गरियो। वनको पहिले र अहिलेको अवस्था साथै परिवर्तन भएको अवस्थाले महिलालाई पारेका असरहरूको बारेमा पनि सामूहिक छलफल गरिएको थियो । यसका साथै जलथल वनमा लोपोन्मुख रहेका विभिन्न प्रजातिहरूको बारेमा फोटोमार्फत प्रश्नोत्तर प्रतियोगिता राखिएको थियो। कार्यक्रममा सही उत्तर मिलाउनेलाई पुरस्कार पनि वितरण गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्