झापा, फागुन २५ । भोजपुर र इलाममा लडेर प्रहरी जवान र बालिका घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय साङपाङ दरवन्दी भई प्रहरी चौकी कोट भोजपुरमा कार्यरत २६ वर्षीय प्रहरी जवान गणेश सुएल पिसाब फेर्नेक्रममा सडकबाट लडेर घाइते भएका हुन् । फागुन २२ गतेबाट लागु हुने गरी ४ दिनको भैपरी बिदामा आफ्नो काकाको बिहेमा उनी गएका थिए ।

ना १ ज ५२९२ नं. को सुमोमा काठमाण्डौबाट सिन्धुली घरतर्फ जन्ती गई फर्किने क्रममा सिन्धुली गोलन्जोर १ कुडुलेमा पिसाब फेर्ने क्रममा अचानक सडक छेउबाट ५० मिटर तल खसेका थिए । उनलाई उद्धार गरी खुर्कोटस्थित शुभजीवन हस्पिटलमा ल्याई उपचार भइरहेकोमा थप उपचारका लागि नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौतर्फ रेफर गरिएको प्रहरीले जनाएको छ ।

यता हिजो दिउँसो १२ः१५ बजे इलाम नगरपालिका ३ पुवामझुवा बस्ने राजबहादुर राईकी छोरी ८ वर्षीया छुनु राई आफ्नै घरनजिकै रहेको गुराँसको रुखबाट लडेर घाइते भएकी छन् । गुराँसको फूल टिप्ने क्रममा अचानक उक्त रुखबाट उनी लडेकी थिइन् । बालिकालाई जिल्ला अस्पताल इलाममा सामान्य उपचारपश्चात् थप उपचारको लागि ओम साई अस्पताल भद्रपुर रेफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्