झापा, फागुन २५ । बिर्तामोडमा सञ्चालित पाँच तारे होटल किंग्सबरी बिक्री भएको छ । कोशी प्रदेशमा सञ्चालनमा रहेका ३ वटा पाँच तारे होटलमध्ये बिर्तामोडमा सञ्चालित होटल किंग्सबरी बिक्री भएको हो ।


प्रकाश गौतमको स्वामित्वमा रहेको उक्त होटल क्यासिनो व्यवसायी रवि धितालले करिब २ अर्ब रुपैयाँमा खरिद गरेका हुन् । किंग्सबरी होटल गत डिसेम्बर सुरुदेखि धिताल समूहले सञ्चालन गर्दै आएको छ । ‘हामीले किंग्सबरी होटल १ अर्ब ९५ करोड रुपैयाँमा खरिद गरेर सञ्चालन गर्दै आएका छौं,’ धिताल समूहका एक सञ्चालक अनुप धितालले भने, ‘दुई–चार दिनमा बोर्ड बैठक बसेर सबै स्वामित्व धिताल समूहको नाममा सार्ने तयारी भइरहेको छ ।’
उनकाअनुसार पुराना सञ्चालक गौतमको केही प्रतिशत सेयर किंग्सबरीमा अझै बाँकी छ । नयाँ सञ्चालक धिताल बिर्तामोड, भैरहवा र भारतको गोवामा क्यासिनो व्यवसाय गर्दै आएका व्यक्ति भएको बताइएको छ ।
गौतमले बिर्तामोडको किंग्सबरी होटल बिक्री गरेर विराटनगर बसपार्क नजिक किंग्सबरी नामकै पाँच तारे होटल निर्माण सुरु गरेका छन् । त्यसका लागि गौतमले होटल रत्नासँग जोडिएको व्यवसायी दिपक मल्होत्राको ४१ कठ्ठा र साझेदारको नाममा रहेको ७ कठ्ठा गरी कुल ४८ कठ्ठा जमिन गत पुसमा १ अर्ब २५ करोडमा खरिद गरेका थिए । मल्होत्राले आफ्नो मात्र स्वामित्वमा रहेको ४१ कठ्ठा जमिन गौतमलाई १ अर्ब ७ करोडमा बिक्री गरेका थिए ।गौतमले गत शिवरात्रिका दिन होटलको शिलान्यास गरेर निर्माण सुरु गरेको म्यानेजर रुपेश गणेशले बताए ।
करिब ४ अर्ब रुपैयाँको लागतमा २ बिघा ८ कठ्ठा क्षेत्रफलमा निर्माण सुरु गरिएको विराटनगरको पाँचतारे किंग्सबरी होटल दुईदेखि अढाई वर्षभित्रमा सञ्चालनमा ल्याउने तयारी भएको म्यानेजर रुपेश गणेशले जानकारी दिए । उनका अनुसार बिर्तामोडको किंग्सबरीमा गौतमको अझै २० प्रतिशत सेयर बाँकी छ । विराटनगरमा निमार्ण सुरु गरिएको यो होटलमा क्यासिनोसहित तारे होटलमा हुने सबै सेवा उपलब्ध हुने छ।
हाल कोशी प्रदेशमा झापा विर्तामोडमा किंग्सबरी, काँकडभिट्टामा मेची क्राउन र सुनसरीको इटहरीमा सोल्टी क्राउन पाँच तारे होटल सञ्चालनमा छन् । प्रदेश होटल व्यवसायी संघका अध्यक्ष राजन श्रेष्ठकाअनुसार यो प्रदेशमा थप ८ वटा पाँच तारे होटल पाइपलाइनमा छन्।
त्यसमध्ये झापामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको एट्रियमसहित तीन, विराटनगरमा पाँच र सुनसरीको इटहरीमा एक पाँच तारे होटल निर्माण हुने र निर्माणाधीन अवस्थामा छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्