मेचीनगर , फागुन २६ । विद्यार्थी शहीद मनिल तामाङको शालिक निर्माण हुने भएको छ ।

मेचीनगर–१५ स्थित धुलाबारी क्याम्पसको हाताभित्र निर्माण गर्नेगरी आज तामाङको शालिकको शिलान्यास भएको हो । संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका पार्टीका बरिष्ठ उपाध्यक्ष ज्ञानु ईम्बुङ,शहीद पिता भरत तामाङले संयुक्तरुपमा शिलान्यास गरेका हुन् । कार्यक्रममा पार्टी महासचिव धनराज सुब्बा,उपमहासचिब काजीमान ओक्राबो,दिलु लिङ्देन लावती,सचिब श्याम मादेन,टंक माङ्लाक,अर्थ सचिब लासाङ निङ्लेखु, झापा महिला मंच अध्यक्ष अमृता थाम्सुहाङ,जिल्ला सदस्य बिजय फोम्बो,क्याम्पस प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
संघीय लिम्बुवान प्रन्तीय मंच झापा जिल्ला अध्यक्ष तथा शहीद मनिल तामाङ शालिक निर्माण समिति अध्यक्ष राजा आङ्थुपोको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शालिक निर्माण समितिका सचिव पूर्ण सुहाङले गरेका थिए । पूर्ण समानुपातिक र ब्यबहारिक शिक्षा लागू गर्नको निम्ति संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको विद्यार्थी संगठन संघीय विद्यार्थी युनियन लगायत लिम्बुवान संगठनहरुले घोषणा गरेको आन्दोलनका क्रममा २०६५ चैत्र ६ गते झापा धुलाबारी क्याम्पस अगाडी प्रहरीको गोली लागेर तामाङको मृत्यु भएको थियो ।