झापा, फागुन २६ । कारागार चलानको अदालती आदेशपछि पनि करिब दुई महिनादेखि बीएण्डसी अस्पतालमै रहेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई अब कारागार पठाइने भएको छ ।

उनको स्वास्थ्यमा धेरै सुधार आएकाले कारागार पठाउने तयारी गरिएको हो । पूर्व नगर प्रमुख शिवाकोटीको स्वास्थ्यमा धेरै सुधार आएकाले कारागारमा ल्याउने तयारी भइरहेको झापा कारागारका प्रमुख रेवन्त भट्टराईले जानकारी दिए । उनले शिवाकोटीलाई राख्न झापा कारागारमा भौतिक संरचना थप गर्ने कि सुविधा भएको अर्को कारागारमा पठाउने भन्ने विषयमा छलफल चलिरहेको जानकारी दिए ।

गत पुष २२ गते झापा जिल्ला अदालतले शिवाकोटीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो । आदेशमा अस्वस्थ्य रहेका शिवाकोटीको उपचारको व्यवस्था मिलाउनसमेत भनिएको थियो । त्यही आदेशबमोजिम झापा कारागारले उनलाई बीएण्डसी अस्पतालमा रहेर उपचार गर्न दिएको हो ।

झापा जिल्ला अदालतले थुनामा राख्न दिएको आदेशविरुद्ध शिवाकोटीले उच्च अदालत इलाममा पुनरावेदन दिएका छन् । झापा जिल्ला अदालतको आदेश बदर गरी पाउँ भन्दै उनले ७३ नं अन्तर्गत निवेदन दिएका हुन् ।

यता झापा जिल्ला अदालतले आगामी चैत्र ११ गते बकपत्रका लागि बोलाएको पीडित बालिकाका एक आफन्तले जानकारी दिएका छन् ।

घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख शिवाकोटी गत मंसिर २४ गते पक्राउ परेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्