झापा, फागुन २९ । लागूऔषध नियन्त्रणमामा सुरुङ्गा प्रहरीलाई लगातार सफलता मिल्दै गएको छ ।

एकपछि अर्को गर्दै लागूऔषधमा संलग्नलाई इलाका प्रहरी कार्यालयले पक्राउ गर्दै गएको हो । केही साताअघि मात्र दुई भारतीय लागूऔषध कारोवारीलाई गोली हानेर नियन्त्रणमा लिएको सुरुङ्गा प्रहरीले नियमितरुपमा अपरेशन जारी राखेको छ । त्यसक्रममा इलाका प्रहरी कार्यालय सुरुङ्गाका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक राधाकृष्ण दाहालको नेतृत्वमा खटिएको प्रहरी टोलीले हिजो गाँजासहित एक दम्पत्तीलाई पक्राउ गरेको छ ।

प्रहरी टोलीले कनकाई–४ मनकामना टोलका ३३ वर्षीय इन्द्र चौधरी र उनकी श्रीमती ३२ वर्षीया ममता चौधरीलाई गाँजासहित पक्राउ गरेको हो । ८ केजी ४० ग्राम गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बिर्तामोडबाट थप अनुसन्धान भइरहेको छ । होलीमा बिक्री गर्नका लागि प्याकेट बनाई तयारी राखिएको कनकाईको ‘पुरानो अड्डा’ मा छापा मारी प्रहरीले ती गाँजा बरामद गरेको हो ।

प्रहरी बरिष्ठ नायब निरीक्षक दाहालले इलाका प्रहरी कार्यालय सुरुङ्गाको नेतृत्व सम्हालेदेखि करिव ५० जनालाई पक्राउ गरिसकेका छन् । त्यसमा अधिकांश लागूऔषधका दुर्व्यसनी र कारोबारी छन् । आज पनि एकजनालाई ब्राउनसुगरसहित पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्