झापा,चैत २ । मोरङको विराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा तोडफोड गर्ने ६ जना पक्राउ परेका छन् ।

गएराति ८.३० बजे ‘आफूहरु नेपाल बिद्यार्थी संघमा आबद्ध बिद्यार्थीहरु हौ’ भन्दै गलत बाटोबाट क्याम्पस परिसरभित्र प्रबेश गरी फलामको रड प्रयोग गरी निर्बाचन अधिकृतको कार्यालयमा लगाएको ताला तोडफोड गरेका थिए ।
त्यसक्रममाविराटनगर–२ बस्ने बर्ष १९ का तिलक पोख्रेल , बर्ष १९ का राज पोख्रेल ,बर्ष २० का किशन रजत , वडा नं –४ बस्ने बर्ष २२ का सुग्यान पराजुली, वडा नं –५ बस्ने बर्ष २७ का अन्जनी चौधरी र वडा नं –१२ बस्ने बर्ष २६ का अबधेश मण्डल रहेका छन् । ती विद्यार्थीहरुलाई इलाका प्रहरी कार्यालय रानिबाट खटिएको टोली र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले नियन्त्रणमा लिई इप्रका रानीमा राखेको छ ।
यसअघि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको निर्वाचन कार्यालयमा तोडफोड गर्ने स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन)का सभापतिसहित ६ जनालाई हिजो दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।
सार्वजनिक बिदाको दिन बन्द रहेको स्ववियु निर्वाचन कार्यालयमा पुगेर प्लाष्टिकको कुर्सी र सूचना पार्टी तोडफोड गरी निर्वाचन कार्यालयको ताला तोडेर भित्र प्रवेश गर्न खोज्दा उनीहरुलाई पक्राउ गरिएको थियो ।
तोडफोडलगत्तै वडा प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालयबाट पुगेको संयुक्त टोलीले स्ववियु सभापति विराटनगर–१० का २८ वर्षीय जसवन्त पौडेल, स्ववियु सचिव विराटनगर–३ का २७ वर्षीय सनिम ठकुरी, स्ववियु सदस्यहरू विराटनगर–१२ का २८ वर्षीय प्रज्वल अधिकारी र २७ वर्षीय रोशनकुमार पासवान तथा क्याम्पसकै विद्यार्थीहरू विराटनगर–७ का २० वर्षीय नवीन तिवारी र १९ वर्षीय तिलक खड्कालाई पक्राउ गरेको हो।
सत्तारूढ कांग्रेसनिकट नेविसंघले गुटगत विवादका कारण आधिकारिक उम्मेदवार टुंगो लगाउन नसक्दा त्रिभुवन विश्वविद्यालयका दर्जनभन्दा बढी आंगिक क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित बनेको छ । केही क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीलगायत संगठनले तालाबन्दी गरेका कारण निर्वाचन प्रक्रिया अवरुद्ध बनेको छ ।