झापा, चैत २ । दोमुखास्थित कन्काई माई खोलामा बगाएर ल्याएको काठ प्रहरीले बरामद गरेको छ ।

गएराति ११.३० बजे शिवसताक्षी नगरपालिका वडा नम्बर– १० दोमुखास्थित कन्काई माई खोलामा बगाउँदै ल्याएको अन्दाजी ६० कि.वि सखुवाको जातको काठ प्रहरीले बरामद गरेको हो । टिउमा बाँधेर काठ बगाएर ल्याउँदै गरेको अबस्थामा अस्थाई प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोली र गैडे सामुदायिक वन उपभोक्ता समितिबाट खटिएको संयुक्त गस्ती टोलीलाई देख्नासाथ काठ तस्करहरु काठ छाडेर फरार भएका थिए ।
अन्दाजी १ लाख ८० हजार मूल्य बराबरको काठ आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गैडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाइएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।