काँकरभिट्टा, चैत २ । लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ ।

आज सम्पन्न फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० कोे गोलअन्तर पराजित गर्दै चर्च व्वाइज च्याम्पियन बनेको हो ।

जितसँगै चर्च व्वाइजले झापा कपपछि उपाधिको खडेरी तोडेको छ । मंसिरमा सम्पन्न झापा कपको उपाधि हात पारेको चर्च व्वाइजले त्यसयता कुनै पनि प्रतियोगितामा जित निकालेको थिएन । चर्च व्वाइजले नगद १० लाख, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको काँकरभिट्टाले नगद ५ लाखमा चित्त बुझायो ।

जितका लागि खेलको ११ औँ मिनेटमा चर्च व्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर अभिषेक गुरुङले पेनाल्टी एरियामा क्लियर गर्न नसकेको बललाई उनले त्यसको फाइदा लिँदै उत्कृष्ट गोल गरेका थिए । उनको त्यहि गोल प्रतियोगिताको उपाधि दिलाउन निर्णायक बन्यो ।

आजको खेलको प्लेयर अफ द म्याच चर्च व्वाइजका समिर तामाङ भए । उनले नगद ११ हजार प्राप्त गरे । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी आयोजकका खमिरगिल्सन कन्दङ्वा घोषित भए । उनले नगद ५१ हजार प्राप्त गरे । सर्वाधिक गोलकर्ता चर्च व्वाइजका अबोयोमी फकुन्ले र मच्छिन्द्रका युसुफ मलिक भए । उनीहरुले जनही नगद २५ हजार र ट्रफी प्राप्त गरे ।

उत्कृष्ट प्रशिक्षक चर्च व्वाइजका सुमन श्रेष्ठ भए । उनले नगद २१ हजार पाए । प्रतियोगिताको गोलरक्षक चर्च व्वाइजकै टिकेन्द्र थापा भए । उनले नगद २१ हजार प्राप्त गरे । उत्कृष्ट डिफेन्स आयोजकका दिवस उराउ भए । उनले नगद २१ हजार रुपैयाँ प्राप्त गरे । उदीयमान खेलाडीको अवार्ड आयोजकका पर्शु राई भए । उनले नगद १५ हजार प्राप्त गरे ।

प्रतियोगितामा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, चर्च व्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, धरान फुटबल क्लब, झापा एफसी, सशस्त्र प्रहरी बलको एपीएफ एफसी, जर्जियन फुटबल क्लब भारत र उज्वेकिस्तानको व्ल्याक बुल्स सहभागी रहेका थिए ।

समापन कार्यक्रममा फुटबलका माध्यमबाट मेचीनगरलाई चिनाउने विभिन्न खेलाडीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा सन्देश श्रेष्ठ, नरोत्तम गौतम, संगिता राउत, लुना प्रधान, लिला थापा रहेका छन् । उनीहरुलाई सम्मानपत्र तथा नगदसहित सम्मान गरिएको थियो ।

आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीको सभापतित्व तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश सांसद गोपाल तामाङ, आयोजक काँकरभिट्टा फुटबल टे«निङ सेन्टरका अध्यक्ष नवराज ओलीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, पूर्व अध्यक्ष विनोद बस्नेत, भद्रपुर गोल्डकपका अध्यक्ष दिपेश ढकाल, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरीलगायतको उपस्थिति रहेको थियो । आयोजक समितिका सहसंयोजक बिमल आचार्यले स्वागत गरेको कार्यक्रमको संचालन सचिव राजु कार्कीले गरेका थिए । प्रतियोगिता चैत २४ गतेबाट सुरु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्