
झापा,चैत ३ । नेपालमा चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा मोबाइल फोन चार्जर आयात संख्या स्मार्टफोनको तुलनामा डेढ गुणा बढी देखिएको छ । साउनदेखि माघभित्र ३० लाख २ हजार ८ सय ५९ थान मोबाइल चार्जर आयात हुँदा स्मार्टफोन आयात संख्या १२ लाख २९ हजार ९ सय ५७ थान रहेको भन्सार विभागको तथ्यांक छ ।
यस अवधिमा कुल १८ अर्ब ९८ करोड १३ लाख ५५ हजार रुपैयाँ बराबरका स्मार्टफोन आयात भएका छन् । यसबाट सरकारले ३ अर्ब ५३ करोड ९७ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ । ३० लाख थान चार्जर आयात हुँदा ४२ करोड २५ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यसबाट सरकारले १२ लाख ९९ हजार ४० रुपैयाँ राजस्व संकलन गरेको छ ।
नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आयात भएको देखिन्छ । यस अवधिमा ९ लाख ५३ हजार २ सय १६ थान स्मार्टफोनमा झन्डै १३ अर्ब रुपैयाँ बाहिरिएको देखिन्छ । यसबाट सरकारले २ अर्ब ४२ करोडभन्दा बढी राजस्व प्राप्त गरेको छ । यस्तै, भारतबाट ५ अर्ब ६२ करोड रुपैयाँ बराबरका २ लाख ७२ हजार ६६ थान स्मार्टफोन आयात हुँदा सरकारलाई १ अर्ब ४ करोड ८२ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ । मोबाइल फोनका चार्जर पनि चीन र भारतबाटै सबैभन्दा बढी संख्यामा भित्रिने गरेको विभागको तथ्यांक छ । नेपालमा रिचार्ज कार्ड भने भारतबाट आयात भएका छन् । पछिल्लो सात महिनामा १ करोड ४ लाख ४९ हजार रुपैयाँ बराबरका १८ हजार ९ सय ३१ केजी रिचार्ज कार्ड भित्रिएका छन् । यस अवधिमा सिमकार्डको आयातमा समेत उल्लेख्य परिमाण देखिएको छ । १० लाख ७१ हजार ४ सय ८१ थान सिमकार्ड आयात भई रुपैयाँ ४ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसबाट १ करोड १६ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यस अवधिमा १ लाख ४६ हजार ७ सय ८२ थान मेमोरी कार्ड आयात भएका छन् । यसबाट १ करोड ६४ लाख ४४ हजार कारोबार भएको छ । मेमोरी कार्ड आयातबाट सरकारले ४० लाख ३७ हजार रुपैयाँ राजस्व प्राप्त गरेको विभागको तथ्यांक छ ।मोबाइल फोन चार्ज गर्न प्रयोग गरिने पावर बैंक (ब्याट्री प्याक) को आयात पछिल्ला सात महिनामा १ लाख ९९ हजार ३८ थान छ । यसमा ११ करोड ७४ लाख ६९ हजार रुपैयाँको कारोबार भएको छ । यसबाट पनि सरकारले ५ करोड १३ लाख ३ हजार रुपैयाँ राजस्व उठाएको छ ।