
झापा,चैत ३ । उपभोक्ताहरूमा वातावरणमैत्री उत्पादनको उपभोग गर्नुपर्ने सचेतनाले विश्व बजारमा यस्तै वस्तुको माग बढिरहेको छ। जसले गर्दा नेपालबाट बाहिरिने यस्ता निर्यातीत वस्तुको आकार बढ्न थालेको छ। विशेष गरेर वातावरणमैत्री वस्तु अम्रिसो, जुट र अन्य वनस्पतिजन्य वस्तुहरूको माग बढेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी)को तथ्यांकले देखाएको छ।
नेपालबाट बर्सेनि अर्बौं रुपैयाँबराबरको अम्रिसो निर्यात हुने गरेको छ। पहिला करोडमा सीमित अम्रिसो निर्यात अहिले अर्ब रुपैयाँमाथि छ। केन्द्रका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा ५५ करोड ७४ लाख, २०७७÷७८ मा ६५ करोड ८८ लाख, २०७८÷७९ मा ६९ करोड ९८ लाख रुपैयाँको अम्रिसो निर्यात भएको थियो। तर अव २०७९÷८० मा भने बढेर १ अर्ब ८८ लाख रुपैयाँको अम्रिसो विदेशमा बिक्री भयो। अझ यसपछिको आव २०८०÷८१ मा अघिल्लो आवको भन्दा ३१.३७ प्रतिशतले वृद्धि भएर १ अर्ब ३२ करोड २५ लाख रुपैयाँको अम्रिसो निर्यात भएको छ।
केही वातावरणीय रूपमा रुचाएका वस्तुहरूको निर्यात बढे पनि व्यापार अवरोधका कारण केहीको भने निकै कम छ। हिजो अधिक मात्रामा उत्पादन हुने जुट र यसको निर्यात सामान्य नै देखिन्छ। जुटको फाइबर अघिल्लो आवमा १८ लाख ७७ हजार रुपैयाँबराबरको निर्यात भएकोमा गत आव १ करोड ५१ लाख रुपैयाँ भयो। समग्रमा जुटजन्य उत्पादन आर्थिक वर्ष २०७६÷७७ मा ३ अर्ब १८ करोड रुपैयाँ निर्यात भएकोमा आव २०७७÷७८ मा २१.९२ प्रतिशतले बढेर ३ अर्ब ८८ करोड रुपैयाँको भयो। यसपछिको अर्को आव २०७८÷७९ मा ५८ प्रतिशतले बढेर ६ अर्ब १३ करोड रुपैयाँको जुटजन्य उत्पादन निर्यात भएको देखिन्छ। केन्द्रको तथ्यांकलाई आधार मान्दा कुनै बेला धेरै निर्यात बढे पनि पछिल्लो समय यी वस्तु घट्दो क्रममा छन्। आव २०७९÷८० मा १ अर्ब ४५ करोड र आव २०८०÷८१ मा ८४ करोड २० लाख रुपैयाँको जुटजन्य उत्पादन निर्यात भयो।
जबकि वातावरणमैत्री उत्पादनमा जुटको सम्भाव्यता छ। तर भारतमा वातावरणमैत्री वस्तु भए पनि गैर करहरू बढी लाग्ने गरेको छ। नेपालले पनि अधिकांश कच्चापदार्थ भारत, बंगलादेशबाटै आयात गरी प्रोसेसिङ गरेर वातावरणमैत्री वस्तुहरू उत्पादन गर्ने प्रचलन छ। पहिला मोरङ जुट मिलले गथ्र्यो तर यो बन्द भयो। हाल रघुपति जुट मिलले जुटका उत्पादन राम्रै निर्यात गर्दै आएको छ। प्रवृत्ति हेर्दा वातावरणीय उत्पादनहरूको निर्यात निराशाजनक हिसाबले घटेको छैन तर माग कायमै भएकाले यस्ता निर्यातले गति लिइरहेकै छ।
पछिल्लो समय मानिसहरू पर्यावरणमैत्री सामानको प्रयोगमा जोडदिएको केही व्यवसायीहरू सुनाउँछन्। यस्ता खाले उत्पादनको व्यापार सहजीकरणका लागि मुलुकले पनि ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ।