झापा, चैत ३ । झापा प्रहरीले एक महिनामा ७१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

अभियान नै संचालन गरी फागुन महिनामा ७१ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए । उनले फागुन महिनामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा अदालतबाट अपराधी घोषित भई फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न सफल भई उनीहरुबाट ३२ वर्ष ११ महिना २१ दिन कैद र ३३ लाख १५ हजार ७०७ रुपैयाँ जरिवाना असुल उपर भएको जानकारी दिएका छन् ।