लक्ष्मी उप्रेती,
मेचीनगर ।आफूहरूले जानेको सीप प्रयोग गरी तयार पारिएका हस्तकलाका सामग्री नबिक्दा झापा मेचीनगरका उद्यमीहरु चिन्तित बनेका छन् ।

रोजगार नभएर घरभित्र रहेका मेचीनगरका धेरै महिला व्यावसायिक सीप तथा तालिमतर्फ आकर्षित भएका छन् । तर, उत्पादित सामग्रीहरूले बजार नपाएपछि अधिकांशले व्यवसाय छोडेका छन् भने धेरैको उद्यमीको लगानी संकटमा परेको छ ।
सामान विक्रीबाट आएको रकमले खर्च धानिरहेकोमा अहिले बिक्रीमा गिरावट आउँदा चिन्ता थपिएको उनीहरुको भनाई छ ।

मेचीनगरका थुप्रै महिलाहरुले विभिन्न सामग्री निर्माण गरेर आम्दानी गर्दै आएका छन् । पछिल्लो समय बढ्दो आधुनिकतासँगै आफूले तयार पारेका सामग्रीले बजार नपाउँदा उनीहरुको व्यवसाय संकटमा परेको हो । पछिल्लो समय हस्तकला उद्योग बढेपनि बजार अभावका कारण उद्योगबाट उत्पादित सामग्रीहरू बिक्री हुन सकेका छैनन् ।

सोचे अनुसार सामान विक्री नभएपछि धेरैजनाले व्यवसाय नै परिवर्तन गर्ने अवस्थामा पुगेको मेचीनगर—८ की लक्ष्मी धिमालको भनाई छ । मागका आधारमा जेनतेन सामान तयार गर्ने गरेको उनी सुनाउँछिन् । बेलाबखत लिएको तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारेपछि धिमालमा आत्मनिर्भरता मात्र बढाएको थिएन, उत्तिकै आत्मसम्मान पनि थियो । स्थानीय सरकारी र गैरसरकारी क्षेत्रबाट सिलाई कटाई, प्लाष्टिकको झोला बनाउने, मकैको खोसेलाबाट विभिन्न फूल बनाउने, दुबोको माला बनाउने, परालको जुत्ता चप्पल बनाउने जस्ता तालिम वर्षेनि सयभन्दा बढी मेचीनगरका महिलाले लिने गरेका थिए ।

कपडा तथा रेग्जिनका झोला बनाउने एकमहिने आधारभूत तालिम र १५ दिने ‘एडभान्स’ तालिम लिएपछि लक्ष्मीले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत मेचीनगर नगरपालिकाको प्राविधिक सहयोगमा ‘लिजा एण्ड एमी व्याग झोला लघु उद्यम’ नै सञ्चालन गरेकी थिइन् । जहाँ कपडा तथा रेग्जिनका व्याग झोला तयार हुन्छ । आफूले उत्पादन गरेको सामानले भनेजस्तो बजार नपाएपछि, धेरै उद्यमीहरू पेशा नै छाड्ने अवस्थामा पुगेको लक्ष्मीको भनाई छ । कच्चा पदार्थ महँगोमा खरिद गरेर उत्पादित सामान सस्तोमा बेच्न नसकिने भन्दैं उनले भनिन् ‘खरिदकर्ताहरु सस्तोमा सामान नपाएपछि फर्केर जाने गरेका छन् ।’

उनी एक उदाहरणीय पात्र मात्रै हुन् । नगरपालिकाले सञ्चालन गरेको विभिन्न सीपमुलक तालिम प्राप्त गर्ने अधिकांशले रोजगारी पाएका छन् भने केहीले आफै उद्यम स्थापना गरेका छन् । ‘उद्यमीहरूको एउटै गुनासो हुन्छ, हामीले सामान त बनाउँछौ तर कहाँ लगेर बेच्ने ?’ मेचीनगरकी आरती राजवंशीले भनिन्—‘उद्यमीहरूलाई बजारको अभाव नहोस्, सामानहरू बिक्री बितरण गर्न सजिलो होस् भन्ने उद्देश्य राखेर सम्बन्धित निकायले ठोस कदम चाल्नुपर्छ ।’ अहिले धेरैजना महिलाले विभिन्न तालिम लिएपश्चात् आत्मनिर्भर बन्ने बाटोमा लागेका भएपनि उत्पादित सामग्रीले बजार नपाउँदा निराश बन्नुपरेको उनको गुनासो छ ।

झापा मेचीनगर– ११ की उद्यमी देवका भण्डारीले पनि सीप र क्षमता भएर पनि आफ्ना उत्पादनले बजार नपाउँदा समस्या भएको बताइन् । बजारमा बाहिरबाट आएका सामग्रीसँग प्रतिस्पर्धा गर्न नसक्नु घरेलु उद्योगलाई चुनौति भएको उनको भनाई छ ।
जसलाई साँच्चिकै आवश्यकता हुन्छ तिनीहरूले तालिमपछि व्यवसाय गरेको मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले बताइन् । उनीहरुले उत्पादन गरेका सामग्रीको बजारका लागि स्थानीय सरकारले पहल गर्ने उप्रेतीको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्