झापा, चैत ५ । भोजपुरमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ ।

फागुन २७ गते बिहान १० बजे भोजपुर टेम्केमैयुङ २ छिनामखु बस्ने ६१ वर्षीय देशकुमार राई र सोही ठाउँ बस्ने ७४ वर्षीय प्रेमकुमार राईविच सामान्य विवाद हुँदा देशकुमारले प्रेमकुमारलाई सिमलीको लठ्ठीले हानेका थिए । घाइते प्रेमकुमारको हिजो साँझ ५ बजे आफ्नै घरमा मृत्यु भएको हो । कुटपिट गर्ने देशकुमारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय भोजपुरमा राखिएको छ ।

त्यस्तै मोरङमा आफ्नै बाबुलाई छोराले चक्कु प्रहार गरेका छन् । हिजो दिउँसो ३.५५ बजे मोरङ रंगेली ७ तित्री टोल बस्ने ६१वर्षीय चन्देश्वर चौधरीलाई उनकै छोरा ३५ वर्षीय अशोक चौधरीले घरायसी विवादका कारण चक्कु प्रहार गरी घाइते बनाएका हुन् । घाइतेलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाइएको छ । उनको टाउको र शरीरको बिभिन्न भागमा चोट लागेको छ । उनको अबस्था गम्भीर रहेको बताइएको छ । चक्कु प्रहार गर्ने अशोकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ ।

त्यस्तै ओखलढुंगामा आफूभन्दा उपल्लो कक्षामा पढ्ने विद्यार्थीलाई कुटपिट गरी घाइते बनाउने पाँचजना विद्यार्थी पक्राउ परेका छन् । हिजो दिउँसो ३.३० बजे ओखलढुंगा सिद्धिचरण ४ रम्जाटारमा रहेको रुम्जाटार माविको कम्पाउण्ड बाहिर विद्यालय छुट्टी भएर घर जाने क्रममा सोहि विद्यालयमा अध्ययनरत ५ जनाले कक्षा–११ मा अध्ययनरत चिसंखुगढी ८ खहरे बस्ने १७ वर्षीय बसन्त बस्नेतलाई सामान्य विवाद हुँदा कुटपिट गरी घाइते बनाएका थिए ।

पक्राउ पर्नेहरुमा कक्षा–९ मा अध्ययनरत १६ वर्षीय समिर श्रेष्ठ, १५ वर्षीय उज्ज्वल राई, रजक मगर, कक्षा–८ मा अध्ययनरत १४ वर्षीय असिम राई र कक्षा–७ मा अध्ययनरत १४ वर्षीये आङलाक्पा शेर्पा रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्