झापा, चैत १० । विद्यालय लाग्ने बेलामै तीन छात्र र तीन छात्राले रक्सी खाएपछि बिर्तामोडको एक विद्यालयका शिक्षकहरुलाई पर्नसम्म पीर पर्यो ।

उनीहरुले मातेका विद्यार्थीलाई अटोमा हालेर विद्यालय लिएर आए । त्यसपछि उनीहरुका अभिभावकलाई खबर गरे । आफ्ना छोराछोरी त्यसरी बिग्रिरहँदा अभिभावकहरुले खासै चिन्ता देखाएनन् । ‘मातेकाले बान्ता गरेका हुन् रक्सीको नशा हटेपछि आफै ठीक हुन्छन् ’ अभिभावकहरुले सामान्यरुपमा लिँदै भनेको कुरा एक शिक्षकले सुनाए ।

विद्यार्थीहरु कहिले रक्सी खाएर र कहिले लागूऔषध सेवन गरेर आउँदा शिक्षकहरुलाई पढाउन गाह्रो भइरहेको छ । शिक्षकहरुले अभिभावकहरुलाई उनीहरुका छोराछोरी कुलतमा फसेको पटक पटक जानकारी गराइसकेका छन् । तर, अभिभावकहरुले खासै वास्ता नगर्दा विद्यालयका शिक्षकहरुले मात्र सम्हाल्न सकिरहेका छैनन् ।‘ घरमा बाबुआमाले निगरानी गर्दैनन् , हामीहरुले मात्र कति कन्ट्रोल गर्नु ?’ उनले भने ,‘कुलतबाट जोगाउने पहिलो दायित्व भनेको अभिभावकहरुको हो ।’

प्रायः सबै विद्यालयका विद्यार्थीहरु कुलतमा फसेका छन् । लागूऔषधको दुर्व्यसनमा फस्ने बढी विद्यार्थीहरु नै रहेका छन् । लागूऔषध दुर्व्यसनको बिगबिगी भइरहँदा आफूले अभिभावकहरुमा सजगता नपाएको कन्चन इङ्गिलस स्कुल बिर्तामोड ७ का संचालक डिल्लीराम चौलागाँई बताउँछन् ।

सामुदायिकसंगै संस्थागत विद्यालयका विद्यार्थीहरुमा पनि समस्या देखिएको नगर प्याव्सनका अध्यक्ष सुरेन्द्र खरेलको भनाई छ । उनले आफ्ना छोराछोरी बिग्रिने भए भनेर अभिभावकहरुले चिन्ता गर्ने बेला आइसकेको बताए । लागूऔषधको दुर्व्यसन न्यूनिकरणका लागि सचेतना कार्यक्रम जरुरी भएकोमा नगर अध्यक्ष खरेलले जोड दिए ।

पछिल्लो समय किशोर किशोरीहरु लागूऔषधको दलदलमा फस्दै गएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्ट बताउँछन् । उनले बिर्तामोडमा लागूऔषधको दुर्व्यसन अचाक्ली बढेको बताउँदै त्यसको नियन्त्रणका लागि प्रहरी प्रशासन , स्थानीय सरकार, अभिभावक , शिक्षकलगायत सबैजना लाग्न जरुरी भएकोमा जोड दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्