बिर्तामोड, चैत १० । विराट सामुदायिक सिकाइ केन्द्रको आयोजना र विराट बहुउद्देश्यीय सहकारी संस्था लि.को समन्वयमा २ दिवसीय वित्तीय साक्षरता तथा सहकारी व्यवस्थापन तालिम शुरु भएको छ ।

तालिमको राष्ट्रिय सभाका पूर्व सांसद हरिचरण शिवाकोटीले उद्घाटन गरेका छन् । विराट बहुउद्देश्यीय सहकारी संस्था लि.का शिक्षा उपसमिति संयोजक नारायण शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि हरिचरण शिवाकोटीले वर्तमान अवस्थामा सहकारी सञ्चालनमा सदस्यहरुको भूमिका, संस्थाको सदस्यप्रतिको दायित्व, सहकारीबिरुद्ध फैलाइएका अफवाहहरुको बारेमा चर्चा गर्दै सहकारीले आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको पाटोमा महत्वपूर्ण भूमिका खेलेको बताए । संस्थाले समयसापेक्ष निर्माण भएका सहकारी ऐन, नियम र कानूनलाई पालना गर्दै सदस्यहरुप्रति थप जवाफदेही हुनुपर्ने समेत जोड दिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष मोहन शिवाकोटीले विराट बहुउद्देश्यीय सहकारी संस्था लि.को बारेमा चर्चा गर्दै संस्थाको उन्नति र दिगो विकासका लागि सदस्यहरुको भावनालाई बुझेर थप जवाफदेही हुँदै अगाडि बढ्ने प्रतिवद्धता जनाए । विराट बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक एवम् सामुदायिक सिकाई केन्द्रका अध्यक्ष रुद्रप्रसाद सिटौलाले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

सहकारीसम्बन्धी प्रशिक्षक, निवृत राष्ट्रसेवक डिल्ली दाहालले संशोधित सहकारी ऐन, आर्थिक व्यवस्थापन, कर्जा लगानी प्रक्रिया, सदस्य र संस्थाबीच अन्तरसम्बन्ध, वित्तीय साक्षरतालगायतका विषयहरुमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । विराट बहुउद्देश्यीय सहकारी संस्था लि.को सभाहलमा चैत्र १० र ११ गते दुई दिनसम्म सञ्चालन हुने उक्त तालिममा ६५ जना महिला र १० पुरुष गरी ७५ जना सहभागी छन् । उक्त वित्तीय साक्षरता र सहकारी व्यवस्थापन तालिमको सञ्चालन विराट सामुदायिक सिकाइ केन्द्रका कार्यक्रम संयोजक अर्जुनकुमार पाठकले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्