झापा , चैत १२ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको विषयलाई लिएर झापा जिल्लाभरि प्रदर्शन भएको छ ।

जिल्लाको बिर्तामोड , दमक , सुरुङ्गा , काँकरभिट्टालगायतका मुख्य नगरहरुमा आज प्रदर्शन भएको हो । केही ठाउँमा प्रतिपक्षी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध प्रदर्शन गरेका थिए भने केही ठाउँमा युवाहरु स्वतःस्फूर्तरुपमा आन्दोलनमा उत्रिएका छन् । यसक्रममा माओवादीनिकट योङ कम्युनिस्ट लिग (वाइसिएल ) झापाको अगुवाईमा आज साँझ बिर्तामोडमा मसाल जुलुस निकालिएको थियो ।

बिर्तामोड–१ स्थित पश्चिम स्टेन्डबाट वाइसिएल जिल्ला कमिटी झापाको आयोजनामा जिल्ला अध्यक्ष डेविड शाही ठकुरीको नेतृत्वमा निकालिएको जुलुसमा कोशी प्रदेश अध्यक्ष कुमार आचार्य , जिल्ला इन्चार्ज राजु आचार्य ( अग्नि ), बिर्तामोड नगर अध्यक्ष सिवन दर्नाल, जिल्ला कमिटी सदस्यहरु , गाउँ कमिटी अध्यक्षलगायतको सहभागिता रहेको थियो । जुलुस पश्चिम स्टेन्ड, अधुवा खोला हुँदै मुक्तिचोक पुगेर कोणसभामा परिणत भएको थियो ।
त्यस्तै कुलमान घिसिङलाई पदबाट हटाइएको बिरुद्धमा नेकपा माओवादी केन्द्र दमकको आयोजनामा शान्तिपूर्ण बिरोध प्रदर्शन गरिएको छ । दमक– ८ गणतन्त्र चोकमा रहेको आकाशेपुलको छेउमा हातमा प्लेकार्ड लिएर बिरोध प्रदर्शन गरिएको हो । र्यालीपछि आयोजित कोणसभामा प्रदेश कमिटी सदस्य देवकुमार नेम्बाङ , प्रदेश कमिटी सदस्य तथा दमक नगर इन्चार्ज बेदु गौतम , झापा जिल्ला इन्चार्ज रन्जित तामाङलगायतले संबोधन गरेका थिए ।

त्यस्तै मेचीनगर नगरपालिका– ६ काँकडभिट्टास्थित हनुमान मन्दिर परिसरबाट फोटो पत्रकार देवेन्द्र खरेलको नेतृत्वमा स्वतःस्फूर्त युवाहरुको समूहले प्रदर्शन गरेको छ । विभिन्न नारा लगाउँदै उनीहरुले बजार परिक्रमा गरेका थिए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले कन्काई नगरपालिकाको सुरुङ्गामा विरोध प्रदर्शन गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी कन्काई नगर समितिको आयोजनामा कन्काई –३ सुरुङ्गास्थित एक्सेल बैंक अगाडीबाट र्याली शुरु गरिएको थियो । कन्काई नगर समितिका सभापति मोहन थापाको नेतृत्वमा ‘भ्रष्ट सरकार चाहिँदैन, मनपरी गर्न पाईदैन , केपी सरकार मुर्दावाद ,ऊर्जामन्त्री मुर्दावाद ,भ्रष्टहरु होसियार , कुलमान तिम्रो पाराले उज्यालो पाए साराले’ जस्ता नाराहरु लगाउँदै टर्च बालेर शान्तिपूर्ण र्याली निकालिएको थियो । उता पाँचथरको फिदिम –१ स्थित गणतन्त्र चोकमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन , युवा संगठन (अनेरास्ववियु क्रान्तिकारी )र वाइसिएल नेपालको संयुक्त आयोजनामा विरोध प्रदर्शन तथा खबरदारी सभा गरिएको थियो ।