झापा, चैत १६ । लाखौं चोरी गरी भाग्दै गर्दा झापा दमकका एक व्यक्ति पक्राउ परेका छन् ।

हिजो दिउँसो अन्दाजी ३ बजे दमक नगरपालिका वडा न. ५ बस्ने ३४ वर्षीय राजेश बराइलीले वडा न. ५ नारायणगोपाल टोल बस्ने ५६ वर्षीय दिपेन्द्र अधिकारीको एक तले पक्की घरमा कोही नभएको समयमा घरको चेन गेट फुटाई चोरी गरेका थिए । घरभित्र पसी सुत्ने कोठाको ताल्चा फुटाई काठ र स्टिलको दराजभित्र राखेको सुन चोरी गरी भाग्ने क्रममा स्थानीयले देखेर इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएका थिए । प्रहरी टोलीले बराइलीलाई नियन्त्रणमा लिएको हो ।

उनले बोकेको झोलाभित्र सुनजस्तो देखिने पहेँलो धातु तिलहरी थान १,नौगेडी थान १, पहेँलो धातुको लकेटसहितको सिक्री थान १, हातमा लगाउने चुरा थान १, कानमा लगाउने टप थान ४ थान (दुई जोर ), औँठी थान २ गरी अन्दाजी ७ तोलाको अन्दाजी १२ लाख बराबर र नगद १८ हजार फेला परेको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

त्यसैगरी दमक २ स्थित जिरायतमा ह्याप्पीमार्ट किराना पसलमा गएराति चोरी भएको छ । पसलका प्रोप्राइटर उदय श्रेष्ठका अनुसार राति नै पसलको गल्ला फोडेर नगद ४० हजार र अन्य सामान गरी १ लाख बराबरको चोरी भएको हो । पसलमा एउटा चप्पल छोडिएकोले अनुसन्धानका लागि प्रहरीले उक्त चप्पल लिएर गएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्