
झापा,चैत १७ । नेपालबाट चोरी गरेर अमेरिका पुर्याइएका २१ वटा पुरातात्विक महत्त्वका कलात्मक वस्तुहरू नेपाल फिर्ता ल्याइएको छ ।
आइतबार बिहान पुरातत्व विभागले ती मूर्तिहरू सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।
यीमध्ये तीनवटा पौवा चित्र (१५–१८ औं शताब्दी) रहेका छन् । यी पौवा चित्रहरू काठमाडौंको इटुम्बहालबाट वि.सं. २०३७ सालमा हराएका थिए । त्यसैगरी, एक प्रस्तरबाट बनाइएको स्थानक बुद्धको मूर्ति (९ औं शताब्दी) बुंगमतीको मच्छिन्द्रबहाल परिसरको चैत्यबाट हराएको थियो ।
साथै, आर्ट इन्स्टिच्युट सिकागोबाट फिर्ता भएको पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुद्धलिन्द बुद्धको मूर्ति (१२–१३ औं शताब्दी) र अन्य १६ थान कलात्मक वस्तुहरू (९–१९ औं शताब्दी) पनि नेपालका विभिन्न स्थानबाट हराएर अमेरिका पुगेका थिए ।
कार्यक्रममा संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले भने, ’नेपालका सम्पदाहरू संसारको कुनै पनि कुनामा पुगे पनि नेपाली सम्पदाको महत्त्व बुझेर ती सम्पदा फर्काउने प्रयास गरिरहेका छौं । अब नेपालबाट मूर्तिहरू चोरी गर्न सकिँदैन । विगतमा गएका चिजहरू अहिले फर्किनु सकारात्मक कुरा हो ।’
उनले विगतमा यस्ता सम्पत्ति कसरी गएका थिए भनेर प्रश्न गर्दै भने, ’अब दुराचार गर्ने समय समाप्त भएको छ र अब चोरी हुन सक्ने छैन ।’ उनले मूर्तिहरूको प्रतिष्ठापनका लागि सरकारले प्रतिवद्धता जनाएको र आर्थिक अवस्थाको चिन्ता नगर्न आग्रह गरे ।
मन्त्री पाण्डेले थप भने, ’स्थानीय सरकारहरू अब आफ्ना आस्थाहरू जोगाउन सक्षम छन् । पुरातात्विक धरोहरहरू पहिले हरिएका ठाउँमै प्रतिष्ठापित गरिनेछ ।’
अहिलेसम्म बेलायत, अस्ट्रिया, अमेरिका, चीन (तिब्बत), भारत, जर्मनी, अस्ट्रेलिया र इटलीबाट जम्मा १७७ थान पुरातात्विक महत्त्वका मूर्तिहरू र कलात्मक वस्तुहरू विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यक्तिहरू तथा संघ संस्थाहरूको प्रयासबाट फिर्ता भइसकेका छन् ।
अमेरिका, फ्रान्स, बेलायत, चीन, अष्ट्रिया, अष्ट्रेलिया जस्ता देशहरूबाट थप कलात्मक वस्तुहरूको फिर्तीका लागि कूटनीतिक पहल भइरहेको छ । संयुक्त राज्य अमेरिकाबाट मात्रै नेपालमा फिर्ता भएका पुरातात्विक महत्त्वका वस्तुहरूको संख्या १०४ पुगेको छ ।