झापा,चैत १८ । गृहमन्त्री रमेश लेखकले गत शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा घटना अराजक, हिंस्रक एवं सिद्धान्तबिनाको भीडले गरेको भन्दै उक्त विषयमा सरकार गम्भीर भएको बताएका छन् ।

’तीनकुनेमा भएको अराजक भीडको कुनै निश्चित वाद, सिद्धान्त केही पनि थिएन, मात्रै आपराधिक कार्य गर्ने निश्चित उद्देश्य थियो,’ गृहमन्त्री लेखकले भने, ’विध्वंश मच्चाउने झुन्डले उग्रता देखायो, त्यसको मार पत्रकारलाई पर्न गएको छ, यस विषयमा नेपाल सरकार गम्भीर छ ।’
हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारकर्मी रहेको घरमा आगजनी गर्ने, सञ्चारगृहमा र सञ्चारकर्मीलाई निशाना बनाएको विषयमा सरकारले सत्यतथ्य छानबिन गरी घटनाका दोषीलाई कारबाही गरिने गृहमन्त्री लेखकले बताए ।
नेपाल पत्रकार महासंघको टोलीबाट ध्यानाकर्षणपत्र बुझ्दै उनले उक्त घटनाबाट ज्यान गुमाएका पत्रकार सुरेश रजक र अन्य घाइते पत्रकारका विषयमा सरकार गम्भीर भएको बताए ।
तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निशाना बनाएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न महासंघले गृहमन्त्री लेखकलाई ध्यानाकर्षणपत्र बुझाएको हो । टोलीमा महासंघका महासचिव रामप्रसाद दाहालसहित आठ जना सहभागी थिए ।