झापा , चैत १९ । प्रजातन्त्रको घोषणापश्चात् पनि भुटान सरकारले आफ्ना नागरिकहरूलाई बलपूर्वक देश निष्कासन गर्ने र बेपत्ता पार्ने काम अझै गरिरहेको भन्दै भुटानी राजनीतिक दलहरुले दीर्घकालीन समाधानका लागि पहल गरिदिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

केही दिनअघि अमेरिकामा पुनर्वास भएकामध्ये दश जना भुटानीलाई देश निकाला गरिएको र चार्टर विमानद्वारा पारो विमानस्थल पुर्याई भुटान सरकारलाई हस्तान्तरण गरिएको थियो । अमेरिकी अधिकारी फर्किएलगत्तै भुटानले ती शरणार्थीहरूलाई मध्यरातमा सरकारी सवारी साधनमा राखी भारतीय सीमापार गराएको थियो । यसरी सीमापार गराइएकामध्ये आशिष सुवेदी, रोशन तामाङ र सन्तोष दर्जी नेपालस्थित शरणार्थी शिविरमा पुगेका थिए ।
त्यस्तै गएराति मेचीनगर –४ स्थित मिलनटुङ्ग सीमा नाकामा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका ३० वर्षीय अशोक गुरुङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाइएको छ । अन्य ६ जना सम्पर्कविहीन बनेका छन् । यसरी भुटानले देश निकाला गर्ने र बेपत्ता बनाउने कार्यले आफूहरु स्तब्ध र चिन्तित भएको राजनीतिक दलका प्रमुखहरुले बताएका छन् ।
हाल चारजना इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतमा छन् । जबकि अन्य ६ जनाको अवस्था अझैसम्म अज्ञात छ । शरणार्थी नेताहरुले विश्वका सबै संस्थाहरू, अन्तर्राष्ट्रिय समुदाय, एम्नेष्टी इन्टरनेशनल र विशेष गरी भारत र नेपालस्थित अमेरिकी दूतावासलाई उनीहरूको खोजी गर्न र राज्यविहीनता एवं पहिचानविहीनता हुने स्थितिबाट बचाउन अपिल गरेका छन् ।
शरणार्थी नेताहरुले पीडितहरूको मानवको रूपमा बाँच्न पाउने न्यूनतम अधिकार सुनिश्चित गर्नका लागि सहयोग गर्न , भुटानी नागरिकहरूलाई पटक–पटक शरणार्थी बन्नबाट बचाउन , शरणार्थी समस्याको दीर्घकालीन तथा पूर्ण समाधानका लागि बहुपक्षीय वार्ताको विकल्प नहुँदा यथाशीघ्र यस सम्बन्धमा नेपाल सरकारको अग्रसरतामा अन्तर्राष्ट्रिय जगतको सकारात्मक पहल गर्न ,हालै भुटानबाट गलत तरिकाले निष्कासित गरिएका र तीन दशक अघिदेखि स्वदेश फर्कन लालायित सबै भुटानीहरूलाई आफ्नै देशमा सहज रूपले बस्नसक्ने वातावरण सिर्जना गर्नका लागि दीर्घकालीन समाधानको पहल र समर्थनका लागि जोडदार माग गरेका छन् ।
भूटान पिपल पार्टीका अध्यक्ष बलराम पौड्याल, डूक नेशनल काँग्रेस–प्रजातान्त्रिक अध्यक्ष रिन्जिन दोर्जी , भूटानी शरणाली प्रतिनिधि स्वदेश फिर्ती समितिका कार्यबाहक अध्यक्ष तिलक राई , भूटान स्वतन्त्र जनमञ्चका महासचिव डि. वि. सुब्बा र नेशनल रिकन्सिलेशन कमिटि भुटानका संयोजक कृष्णबीर तामाङले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी ध्यानाकर्षण गराएका हुन् ।