झापा,चैत २१ । नयाँ बन्ने कृषि नीतिले आत्मनिर्भरता, आधुनिकीकरण, व्यवसायीकरण र प्रतिस्पर्धी उत्पादनलाई जोड दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

खाद्यका लागि कृषि अभियानले सरोकारवाला निकायबिच कृषि नीति, २०८१ को मसौदामाथि गरेको छलफलमा उनीहरूले आत्मनिर्भर र व्यावसायिकतालाई जोड दिनुपर्ने बताएका हुन् ।

नयाँ बन्ने नीतिले आत्मनिर्भरता, आधुनिकीकरण, व्यवसायीकरणमार्फत प्रतिस्पर्धी कृषि प्रणालीको विकास गरी व्यापार सन्तुलनमा सुधारमा जोड दिनुपर्ने बताइएको छ । सो अवसरमा कृषिविज्ञ डा. कृष्ण पौडेलले जलवायु परिर्वतन, कोभिड सङ्कट र खाद्य सङ्कटलाई न्यूनीकरण गर्ने गरी नीति ल्याउनुपर्ने बताए ।

नीति बनाउने ढाँचा परम्परागत रहेकाले समय अनुसार परिमार्जन गर्दै जानुपर्ने उनको भनाइ छ । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले अब बन्ने कृषि नीतिले आत्मनिर्भरतालाई जोड दिई मौलिक एवं समयसान्दर्भिक हुनुपर्ने उनको भनाइ छ । राम्रा नीति बने पनि कार्यान्वयन पक्ष कमजोर रहेकाले कार्यान्वयन हुने गरी नयाँ नीति बनाउनुपर्ने उनको भनाइ छ ।

सो अवसरमा सांसद सम्झना थपलियाले परम्परागत खेती प्रणालीले उत्पादन र उत्पादकत्व वृद्धि नहुने हुँदा नयाँ नीतिमा आधुनिक खेती प्रणाली अवलम्बन गर्नुपर्ने बताइन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले सरोकारवाला निकायको सुझाव समेटर नयाँ नीति तयार गरिने बताए । कृषि क्षेत्रको दिगो रूपान्तणका माध्यमबाट अहिलेको समग्र अर्थतन्त्रलाई स्वतन्त्र, समावेशी, आत्मनिर्भर बनाउन नयाँ नीति तयार गर्न लागिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्