झापा,चैत २२ । ताप्लेजुङको मैवाखोला गाउँपालिकालाई फुस (खर) को छानामुक्त पालिका बनाउने अभियान सुरु गरिएको छ ।

गाउँपालिकाले हालसम्म फुसको छाना भएका सबै परिवारको घरको छाना विस्थापन गरी जस्तापाता लगाउने र पालिकालाई नै फुसको छानामुक्त बनाउने अभियान सुरु गरेको हो ।
गाउँपालिकाले लाभग्राही अर्थात फुसको छाना भएका घर परिवारको छाना विस्थापन गर्ने र जस्तापाता लगाई दिने कार्यक्रम अघि सारेको छ । फुसको छाना विस्थापन गरी पालिकालाई नै फुसको छानामुक्त बनाउने गरी कार्यविधि नै बनाएर गाउँपालिकाले फुसको छाना विस्थापन गर्ने कार्यक्रम अघि बढाएको जनाएको छ ।
मैवाखोला गाउँपालिकाले जारी गरेको फुसको छाना विस्थापन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ अनुसार लाभग्राही समूहमा पर्ने परिवारको घरमा भएको फुसको विस्थापन गरिने छ । लाभग्राही समूहमा नपर्ने परिवारका लागि पनि कार्यविधिमा स्पष्ट व्यवस्था गरिएको छ । गाउँपालिकाभित्र एकभन्दा बढी घर भएको, घर फुसले र गोठ तथा भण्डारण घर जस्तापाता वा ढुङ्गाले छाएको अवस्थामा त्यस्ता परिवारलाई कार्यक्रममा नसमेटिने कार्यविधिमा उल्लेख गरिएको छ ।
त्यस्तै, लाभको पद लिएका परिवार, जिल्लाभित्र वा बाहिरसमेत एकभन्दा बढी घर भएका, गाउँपालिकाभित्र पक्की घर भएका, वडा कार्यालयबाट लाभग्राहीको रूपमा सिफारिस गर्न नमिल्ने र अन्य क्षेत्रबाट आएर अर्काको घरमा रुँघालु बसेका परिवारसमेत फुसको छाना विस्थापन कार्यक्रमको लाभग्राहीमा नपर्ने उल्लेख छ । यता प्राकृतिकजन्य विपतका कारण घरबारविहीन भएका परिवार, अपाङ्ग घरमुली भएको परिवार, विपन्न, असहाय परिवार फुसको छाना विस्थापन कार्यक्रमको लाभग्राहीमा पर्दछन् ।
यसैगरी, ज्येष्ठ नागरिक, महिला तथा बालबालिका, एकल महिला भएको परिवार, आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा पछाडि पारिएका दलित, आदिवासी जनजाति तथा अल्पसङ्ख्यक परिवारलाई भने लाभग्राहीको प्राथमिकता सूचीमा पर्ने कार्यविधिमा उल्लेख छ । यता फुसको छाना विस्थापन कार्यक्रम कार्यान्वयन अन्तर्गत गाउँपालिकाले लाभग्राहीसमक्ष आवेदन आह्वान गरेको गरेको छ ।