बिर्तामोड, चैत २२ । सरकारले निगरानी नगरेपछि अखडा जमाउँदै आएका बिर्तामोडको यातायात व्यवस्था कार्यालयमा ५० भन्दा बढी विचौलिया रहेको अनुमान गरिएको छ ।

विचौलियाहरुको विगविगीका कारण धेरै हैरानी बेहोर्नु परिरहेको सेवाग्राहीहरुले पटक पटक गुनासो गरेपछि प्रहरीले पहिलो पटक आज स्ट्रीङ अपरेशन गरी दुई महिलासहित ९ जनालाई पक्राउ गरेको छ । यातायात ब्यबस्था कार्यालयमा पछिल्लो केही समययता त्यहाँ कार्यरत कर्मचारी र बिचौलियाको मिलेमतोमा व्यापक ठगी भइरहेको गुनासो आएपछि प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको आदेशमा सादा पोसाकमा नेपाल प्रहरीको टोलीले स्ट्रीङ अपरेशन गरेको थियो ।
पक्राउ पर्ने बिचौलियाहरुमा बिर्तामोड १ बस्ने वर्ष २७ का सुरज आचार्य, सोही वडाका बर्ष ४२ का तुलसी खतिवडा, कन्काई १ बस्ने बर्ष २० का दिवस राई , बिर्तामोड ५ बस्ने बर्ष ४३ का रामप्रसाद ढकाल, बिर्तामोड १ बस्ने बर्ष २४ की गरिमा घिमिरे , बिर्तामोड १ बस्ने बर्ष ५२ की सीता भेटवाल , बिर्तामोड १ बस्ने बर्ष २९ का रोशन आचार्य , बिर्तामोड ३ बस्ने बर्ष २६ का युवराज लिम्बू र बिर्तामोड २ बस्ने बर्ष २४ का टंकप्रसाद राजवंशी रहेका छन् । उनीहरुलाई अभद्र व्यवहार मुद्धामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिए ।
सेवाग्राहीहरुले मौखिक कम्प्लेन गरेपछि प्रहरीले स्ट्रीङ अपरेशन गरेको विष्टले जानकारी दिए । यातायात व्यवस्था कार्यालयमा विचौलियाहरुको विगविगी रहेको गुनासो आएपछि विचौलियाहरुको संख्या यकिन गर्न नसकिएपनि अरु पनि विचौलिया हुन सक्ने भनेर प्रहरीको निरन्तर निगरानी रहने उनले बताए । आफूहरु कार्यालयभित्र रहने भएकाले बाहिर के कति विचौलिया छन् भनेर थाहा नभएको यातायात व्यवस्था कार्यालयका प्रमुख प्रेम सापकोटाले बताए । उनले विचौलियाले दिने गरेको दुःखका बारेमा आफूकहाँ पनि गुनासो आउने गरेको बताउँदै त्यसलाई नियन्त्रण गर्न प्रहरी प्रशासनले निरन्तर लाग्नुपर्नेमा जोड दिए ।
कार्यालय प्रमुख सापकोटाले विचौलियाको बारेमा थाहा नभएको दावी गरेपनि कर्मचारीकै मिलेमतोमा विचौलियाहरुले व्यापक ठगी गरिरहेको सेवाग्राहीहरुको गुनासो छ । कार्यालयहरुमा सोधपुछ शाखा हुन्छ । कहाँ जाने, के गर्ने अन्योल भए सोधपुछ शाखामा सोध्ने हो । तर, यातायात कार्यालयको सोधपुछ शाखाभन्दा विचौलियाको शाखा छिटोछरितो छ । विचौलियाहरु सोधपुछका लागि गेटमै आइपुग्छन् । नजानेको विषयमा जानकारी लिँदा कर्मचारी झर्कने गरेको सेवाग्राहीको गुनासो छ । विचौलियाका कारण सेवाग्राही हैरान छन् । विचौलियाले बढी पैसा लिएर कर्मचारीसँग मिलेर काम गर्ने गरेको आरोप लाग्ने गरेको छ ।
यातायात कार्यालयमा सेवाग्राहीको सधैं भीड लाग्छ । कति सेवाग्राही कता जाने, के गर्ने भन्ने अलमलमा हुन्छन् । विचौलियाहरु गेटमै आइपुग्छन् । ‘तपाईंलाई लाइसेन्स रिन्यु गर्न पूरै दिन लाग्छ म एकैछिनमा गरेर ल्याइदिन्छु ’ विचौलियाहरु यसरी ठग्छन् । यातायात कार्यालयको अस्तव्यस्तता र भद्रगोलले सेवाग्राहीहरुलाई आजित बनाउँछ । बीच–बीचमा विचौलिया घुस्दा सेवाग्राही घण्टौं लाइनमा बस्न बाध्य भइरहेका छन् । पाँच मिनेटको कामका लागि पूरै दिन बिताउनुपर्ने बाध्यतामा सेवाग्राही छन् । जसको फाइदा विचौलियाहरुले उठाइरहेका छन् । विचौलियाका कारण सेवाग्राही मर्कामा परिरहेपनि जिम्मेवार निकायले अनुगमन गर्ने गरेको पाइदैन ।