झापा,चैत २३ । ताप्लेजुङका किसानले अर्गानिक चिया उत्पापदनमा जोड दिन थालेका छन् ।

जिल्लाको सिरिजङ्घा गाउँपालिका–८ याम्फदिनका किसानले अर्गानिक हातेपत्ती चिया उत्पादनमा जोड दिन थालेका हुन् । हातेपत्ती चियाको माग बढेसँगै अर्गानिक उत्पादनमा जोड दिन थालेको किसानले बताएका छन् ।
जनप्रतिनिधिको भूमिकामासमेत रहेका याम्फुदिनका किसान सन्तोष राईले अर्गानिक चिया उत्पादनमा जोड दिन थालेको बताए । राई जिल्ला समन्वय समिति ताप्लेजुङको सदस्य हुन् । विगत २०६५ सालदेखि व्यावसायिक चिया खेती सुरु गरेका राईले अर्गानिक चिया उत्पादन गर्दै आएका छन् ।
उनले सुरुदेखि नै अर्गानिक चिया (हातेपत्ती) उत्पादन गर्दै आएका छन् । अर्गानिक हातेपत्ती चियाको माग बढ्दै गएकाले अर्गानिक उत्पादनमै जोड दिन थालेको उनले बताए । चिया बगान (बगैँचा) मा गाईवस्तुको गोबर मल प्रयोग गर्ने गरेको र विषादीरहित अर्गानिक चिया उत्पादन गर्दै आएको उनको भनाइ छ ।

इलामको सुम्बेकबाट ४०० वटा चियाको बिरुवा ल्याएर खेती सुरु गरेका राईले हाल करिब १३ रोपनी क्षेत्रफल बराबरमा चिया खेती विस्तार गरेका छन् । समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइ रहेको क्षेत्रमा लगाएको खेतीबाट हाल वर्षमा तीन सय किलोग्राम जति अर्गानिक हातेपत्ती चिया उत्पादन हुँदै आएको उनले बताए । खेती विस्तार भएको सबै बगैँचामा चियाको बिरुवा हुर्किनसकेकाले कम मात्र उत्पादन हुँदै आएको पनि उनले बताए ।

आधुनिक प्रविधि र प्रशोधनबिना उत्पादन गरिने अर्गानिक हातेपत्ती चिया हिमाली गोठहरु र गाउँघरमै खपत हुँदै आएको राईले जानकारी दिए । अर्गानिक हातेपत्ती चियाको फरक स्वाद हुने र कुनै असर नगर्ने भएकाले माग अत्यधिक रहेको उनले बताए । उनका अनुसार हाल उत्पादन हुँदै आएको चियाले माग धान्न सकेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्