झापा,चैत २३ । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राईले असोज महिनामा अविरल वर्षा पछि आएको बाढीले पुल बगाएका खोला नालामा पुनः पुल निर्माणका लागि आफु प्रतिबद्ध रहेको बताएका छन् ।

शनिबार पाँचथर पुगेका राईले फिदिम र फालेलुङलाई जोड्ने फेमे खोलामा तत्कालका लागि सङ्घीय सरकारले उपलब्ध गराउने बेलिब्रिज ल्याएर जोड्दै पक्की पुल निर्माणको प्रकृया अगाडि बढाउने बताए ।
‘‘प्रदेश सरकारसँग बेलिब्रिज थिएन, सङ्घीय सरकारलाई मागेका छौं, गृह मन्त्रालय मातहतको विपद प्राधिकरणले ६० मिटर लामो बेलिब्रिज उपलब्ध गराउने भनेको छ, त्यो ल्याएर जडान गर्छौ, पक्की पुलका लागि एक साता भित्र डिपिआर सुरु हुन्छ ।’’ मन्त्री राईले भने ।
बाढीले क्षतिग्रस्त पुल पुनर्निर्माणका लागि प्रदेशभरका लागि ४० करोड रुपियाँ स्रोत सुनिश्चित गरेको पनि राईको भनाइ थियो । पर्याप्त बजेटसँगै स्रोत सुनिश्चित नहुँदा पनि पुल निर्माण ढिलाई भएको उनको भनाइ थियो ।
यसअघि बाढी आएलगत्तै अनुगमनमा आएका मन्त्री राईले तत्काल पुल निर्माण गर्ने प्रतिबद्वता जनाएर फर्किएका थिए । त्यसको सात महिनापछि पुनः पाँचथर पुगेका राईले पुल बनाउने प्रतिबद्धता जनाएका हुन् ।